राष्ट्रिय झण्डा फेर्ने माओवादीको त्यो प्रस्ताव र सिंहदरबारको नाम फेर्ने हरि ढकालको यो प्रस्ताव

काठमाडौँ । पहिलो संविधानसभा निर्वाचन (२०६४) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले कुल २२० सिट जितेर पहिलो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फः माओवादीले २४० सिटमध्ये १२० सिट जितेको थियो । समानुपातिक तर्फः १०० सिट जितेको थियो । त्यस्तै मनोनिततर्फः उसले २६ सिटमध्ये ४ सिट पाएको थियो । जम्मा सिटः ५७५ मध्ये कुल २२० सिट जितेर माओवादी देशको पहिलो दल बनेको थियो । विद्रोहबाट शान्ति प्रक्रियामा आएको माओवादी निर्वाचनमा यत्रो सीट आएपछि उसको भुइँमा खुट्टा थिएनन्, जसरी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको छ ।

निर्वाचनमा पहिलो दल बनेको माओवादी संविधान निर्माणका क्रममा अनेक अनेक प्रस्ताव ल्याउँथ्यो । माओवादीले ’नेपाल र नेपाली जनताको भावनालाई समेट्न नसकेको’ तर्क गर्दै औपचारिक रुपमा राष्ट्रिय झण्डा फेर्ने प्रस्ताव संवैधानिक समितिमा लग्यो । बिस २०६६ साल कात्तिकमा माओवादीले राष्ट्रिय झण्डा फेर्ने प्रस्ताव समितिमा लग्यो । झण्डा त फेर्ने तर कस्तो स्वरुपको बनाउने भन्ने उसको प्रस्ताव थिएन । अहिलेको झण्डाले नेपालका बहुजाति, बहुभाषा, बहुसमुदाय, बहुसंस्कृति, भौगोलिक विविधताका तराई, पहाड र हिमाललाई समेट्ने गरी कुनै भाव नदिएको उसको तर्क थियो । त्यस्तै माओवादीले राष्ट्रिय जनावरको रुपमा कुनै पनि जनावरलाई राख्न नहुने प्रस्ताव गर्ने निर्णय गर्यो । उसले कुनै पनि जनावरलाई राष्टिय जनावारको रुपमा राख्दा कुनै जाति, समुदायलाई उपेक्षित गर्ने भन्दै त्यस्तो नराख्ने तर्क सारेको हो । त्यसैगरी, माओवादीले राष्ट्रिय चिन्ह पनि नराख्ने प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

तर पहिलो संविधानसभाबाट संविधान जारी हुन सकेन । फेरि दोस्रो संविधानसभाको निर्वाचन भयो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ २६ र समानुपातिकतर्फ ५४ सिट गरी कुल ८० सिट जितेको थियो। यस नतिजासँगै माओवादी संविधानसभामा तेस्रो ठूलो दल बनेको थियो । जसरी पहिलो संविधानसभापछि माओवादीले अनेक प्रस्ताव लैजान्थ्यो, दोस्रो संविधानसभा निर्वाचनपछि भने ऊ त्यस्ता प्रस्ताव लैजान नसक्ने अवस्थामा पुग्यो । किनकी पहिलो संविधासभा निर्वाचनमा पहिलो दल दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो बन्न पुग्यो । जसले गर्दा उसले जे चाहेको थियो, त्यो गर्न सकेन । अर्थात् झण्डा फेर्ने, राष्ट्रिय जनावर नराख्ने अनि राष्ट्रिय चिन्ह नराख्नेलगायका उसका प्रस्तावले संविधानमा कुनै ठाउँ पाएनन् ।

जसरी माओवादी पहिलो संविधानसभामा जितेर मैमत्त भएको थियो, गत फागुन २१ को निर्वाचनमा जितेर रास्वपाको स्थिति पनि त्यस्तै छ । त्यसैले रास्वपाका सांसदले पनि अनेक अनेक प्रस्ताव गर्न थालेका छन् । यस्तो प्रस्ताव गर्ने हुन् रास्वपाका सांसद हरि ढकाल । २०७९ को निर्वाचनमा संसद प्रवेश गरेका ढकाल त्यतिबेला शेयर बजारकोमात्र प्रायः सदनमा विषय उठान गर्थे । तर आइतबार उनले अनौठो प्रस्ताव अघि सारेका छन् । उनले सिंहदरबारको नामै फेर्नुपर्ने प्रंस्ताव अघि सारेका छन् । उनले नेपालमा सिंह नभएकाले सिंहदरबार नाम उपयुक्त नभएको बताए । उनले भने, ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो । मतलब एयरपोर्टहरूको, कहाँ–कहाँको नाम फेरिए । तर त्यो सिंहदरबार भन्ने चाहिँ…न हामीसँग सिंह छ, हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसको केही हाउभाउ, भावभङ्गीहरु त्यो भाषा जस्तै छ । त्यो चिर्न पर्ने छ ।’ उनले सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने बताएका छन् ।

उनले यस्तो प्रस्ताव गरेपछि उनी अहिले आलोचनाको शिकार बनिरहेका छन् । कसैले मनमा हरि नभएको मान्छेको नाम किन हरि राखेको ? भन्ने जस्ता प्रश्न उनलाई गरिरहेका छन् । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता डा. भीम रावलले ढकालको प्रस्तावलाई अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वाधीनता, स्वाभिमान, अस्तित्व समाप्त पार्ने खेलका रुपमा टिप्पणी गरेका छन् ।

यस्तो छ भीम रावलको टिप्पणी

नेपालको संविधान बनाउने सिलसिलामा संवैधानिक समितिमा नेपालको नाम र झण्डा फेर्ने जस्ता घातक प्रस्ताव आएका थिए । ती पराजित भए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति जस्तो महत्वपूर्ण समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम फेरेर नाम नभएको अनामनगरको नामबाट राख्नुपर्छ भनेर सार्वजनिक रुपमा भनेको सुनियो । मैले लामो समयदेखि भनिरहेको छु– केही मानिसहरु अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वाधीनता, स्वाभिमान, अस्तित्व, विशिष्टता र व्यक्तित्वका परिचायक इतिहास, संस्कृति, सभ्यता र जीवन पद्धति नष्ट गर्न उद्धत छन् । यस्तो दुष्प्रयास नेपालको अस्तित्वमा नै आघात पुर्याउने षड्यन्त्रको अङ्ग हो ।

संसारका विभिन्न देशहरूमा ठूलाठूला क्रान्ति र परिवर्तन हुँदा बाह्य शक्तिले आक्रमण वा कब्जा गरेर विनाश गरेको अवस्थामा बाहेक ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक भवन, स्थल, स्मारकको संरक्षण गरेको पाइन्छ । निर्माण गर्दा कति मान्छेले बलिदान दिएका थिए, कति पैसा खर्च भएको थियो भन्ने आधारमा तिनको अस्तित्व राख्ने वा समाप्त गर्ने भनी निर्धारण गरिएको देखिन्न । बरु समकालिन युग, परिस्थिति र परम्पराको आधारमा मूल्याङ्कन र अध्ययन गरिएको पाइन्छ ।

सिंहदरबारको नाम फेर्ने भन्दै आएको प्रस्तावप्रति नेपाली सिने जगतका महानायक राजेश हमालले पनि असन्तुष्टि जनाएका छन् । उनले भगवान् विष्णुको नरसिंह-आधा मानव र आधा सिंह-को अवतार दैवी न्याय, साहस र संरक्षणको प्रत्यक्ष प्रतीकका रूपमा स्थापित रहेको उल्लेख गरेका छन् ।

यस्तो छ राजेश हमालको टिप्पणी

नेपालको सांस्कृतिक विरासतमा सिंह केवल एउटा कलात्मक आकृति मात्र होइन । शताब्दीयौँदेखि नेपालमा सिंहले गहिरो धार्मिक र आध्यात्मिक महत्त्व बोकेको छ। नेवार कलाकार तथा शिल्पीहरूले आफ्नो विशिष्ट कला, शिल्पकौशल र समृद्ध सांकेतिक कल्पनाशक्तिमार्फत सिंहका विशिष्ट पौराणिक स्वरूपहरू सिर्जना र निर्माण गरेका छन्। मन्दिर, मूर्तिकला, वास्तुकला तथा धार्मिक कलामा देखिने यी सिंहका स्वरूपहरू केवल सजावटका लागि मात्र थिएनन्; तिनले शक्ति, साहस, संरक्षकत्व, दैवी सामथ्र्य र सार्वभौमिकताको गहिरो अर्थ बोकेका थिए । भगवान विष्णुको नरसिंह—आधा मानव र आधा सिंह—को अवतार दैवी न्याय, साहस र संरक्षणको प्रत्यक्ष प्रतीकका रूपमा स्थापित छ । इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई उनीहरू को हुन्, कहाँबाट आएका हुन् र कुन सभ्यतागत यात्राका उत्तराधिकारी हुन् भन्ने बुझ्ने आधारबाट वञ्चित गर्नु हो। इतिहासको अर्थ र स्मृतिलाई मेटाएर हामी भावी पुस्तालाई दिशाहीन यात्रातर्फ धकेल्छौँ—जहाँ भविष्य त हुन्छ, तर त्यसलाई मार्गदर्शन गर्ने कम्पास(compass)हुँदैन । उल्लेखनीय कुरा सिंह प्राकृतिक रूपमा पाइँदै नपाइने देश सिंगापुरको नामसमेत संस्कृत शब्द ‘सिंह’बाट आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *