काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपा सभापति रवि लामिछानेलाई सत्ताको जेट सधैं टर्बुलेन्समा किन पर्ने रहेछ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक संजालमार्फत बास्कोटाले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘सत्ताको जेट सधैं टर्बुलेन्समा किन पर्ने रहेछ रविजी ? पाँच वर्ष बालेनलाई भन्ने तर खाली चेकको भर । सिस्नोपानीमा, मनोज–धुर्मुसको फुइँ तिहाईको उडान नयाँ क्याप्टेनले रिभ्यु गर्ने कि ? सल्लाह हैन, फेरि तपाईँले रिभ्यु ओली–प्रचण्डले गर्नु भन्नु होला –त्यो पर्दैन, ढिला भो । अदालतमा नयाँ सेल पाक्ला त ?’
शनिबार साँझ युवा उद्यमीहरुसँगको छलफलमा सभापति लामिछानेले सरकार सञ्चालनका क्रममा विभिन्न चुनौती र उतारचढाव आएपनि त्यसलाई सामना गर्दै गन्तव्यमा पुर्याउने बताएका थिए । उनले भनेका थिए, ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ, कहिलेकाहीँ मौसमका कारण टर्बुलेन्स आउन सक्छ । तर, हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौँ । सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता हामीसँग छ ।’
