काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्तावको आलोचना भएपछि अभिव्यक्तिबारे थप प्रष्ट पार्ने प्रयास गरेका छन् ।
सोमबार बिहान आयोजित एक कार्यक्रममा सांसद ढकालले राजनीतिक परिवर्तनपछि थुप्रै ठाउँहरूको नाम परिवर्तन भए पनि सिंहदरबारको नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।
उनले भनेका थिए, ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो । मतलब एयरपोर्टहरूको, कहाँ–कहाँको नाम फेरिए । तर त्यो सिंहदरबार भन्ने चाहिँ न हामीसँग सिंह छ, हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसको केही हाउभाउ, भावभङ्गीहरु त्यो भाषा जस्तै छ । त्यो चिर्न पर्ने छ ।’ उनले सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने बताए । ढकालको यस्तो अभिव्यक्तिको आलोचना भयो । राप्रपका प्रवक्ता मोहन श्रेष्ठले उनलाई आफ्नो नाम गोबर राख्नसमेत सुझाव दिए ।
त्यसपछि सोमबार साँझ ढकालले आफ्नो अभिव्यक्ति पुष्ट्याइँ गर्ने प्रयास गर्दै फेरि सामाजिक संजालमा यस्तो लेखेका छन्, ‘मृग (हरिण) ले सिंहलाई गरेको अगाध प्रेमको दुर्लभ दृश्य आज सामाजिक सञ्जालमा देखें । त्यो दरबार बनाउँदा श्रमिकमाथि गरिएको शोषणको इतिहास आज पढेको होइन, अलि पहिल्यै नै पढेको थिएँ । त्यो दरबारको स्वभाव–भाव भङ्गी नाम जस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो । यसपटकको परिवर्तन होइन, पहिले–पहिलेकै परिवर्तनमा कति धेरै ठाउँका नाम परिवर्तन भए। त्यसको पनि परिवर्तन गरेर अरु नै नाम राखिदिएको भए हुने थियो भनेको थिएँ । पूरा भिडियो धेरैले हेर्नुभएको छैन, मलाई थाहा छ। हामी कार्यक्रममा सहभागी हुने चाहिँ दंग छौं । म मेरो तर्कमा अडिग छु—सिंह दया र करुणाको प्रतीक होइन । सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो शासककै प्रतीक हो । सबैको जय होस् । नेपालको जय होस्।’
