डा. ठाकुर माेहन श्रेष्ठ
१. बदलिँदो विश्व व्यवस्था र नेपालको भूराजनीति:
विश्व बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको छ। शक्ति, प्रविधि, अर्थतन्त्र र सुरक्षा प्रतिस्पर्धाको नयाँ समीकरणमा नेपाल भारत र चीनजस्ता आणविक–सशस्त्र छिमेकीबीचको स्वतन्त्र, सार्वभौम र रणनीतिक रूपमा संवेदनशील राष्ट्र हो। असंलग्न परराष्ट्र नीति नेपालको रणनीतिक स्वायत्तताको आधार हो। कुनै शक्ति–गुटको पक्षधर नभई राष्ट्रिय हित, सार्वभौमिकता, पारस्परिक सम्मान र समानताका आधारमा भारत, चीन तथा विश्व समुदायसँग सन्तुलित, सक्रिय र विश्वासमा आधारित सम्बन्ध कायम गर्नुपर्छ।
नेपाल प्रतिस्पर्धाको भूगोल होइन, सहकार्य, शान्ति र समृद्धिको Bridge Nation बन्ने क्षमता राख्छ। सुरक्षित र समृद्ध नेपालले आफ्नै सार्वभौमिकता र रणनीतिक स्वायत्तता जोगाउँदै छिमेकी तथा विश्व समुदायको शान्ति, स्थायित्व र साझा हितमा समेत रचनात्मक योगदान दिन सक्छ।
२. राष्ट्रिय सुरक्षाको नयाँ आयाम: आज सुरक्षा सीमा र युद्धमा मात्र सीमित छैन। Cyber, AI, drone, information warfare, disinformation, आर्थिक–ऊर्जा निर्भरता, जलवायु, महामारी र रणनीतिक पूर्वाधारसमेत राष्ट्रिय सुरक्षाका विषय हुन्। त्यसैले दीर्घकालीन, दलगत स्वार्थभन्दा माथि उठेको राष्ट्रिय सुरक्षा रणनीति आवश्यक छ।
३.इन्टेलिजेन्समा आधारित रक्षा तथा सुरक्षा (Intelligence-Based Defence and Security):
आज घटना भएपछि प्रतिक्रिया दिनेभन्दा पूर्वसूचना, जोखिम पहिचान, विश्लेषण र समयमै प्रतिरोध महत्वपूर्ण छ। त्यसैले इन्टेलिजेन्समा आधारित रक्षा तथा सुरक्षा आजको आवश्यकता हो। राष्ट्रिय अनुसन्धान, सैन्य तथा अन्य सुरक्षा निकायबीच सूचना आदान–प्रदान, विश्लेषण र समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्छ।
४. सैन्य कुटनीति(Military Diplomacy) :
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तथा अन्तर्राष्ट्रिय सैन्य सहकार्यको नेपालको अनुभवलाई उपयोग गर्दै Military Diplomacy लाई राष्ट्रिय हित, विश्वास निर्माण, शान्ति र रणनीतिक संवादको महत्वपूर्ण कूटनीतिक औजार बनाउनुपर्छ। मूलत: अन्तर्राष्ट्रिय संघ संस्था निष्कृय भएका वर्तमान विश्वमा सैन्य कुटनीतिकाे महत्व झनै बढेकाेछ। विगतमा भारत र नेपालका सैनिक कुटनी र भराेसमा अघाेषित नाकाबन्दी खुलेकाे स्मरण गर्न सकिन्छ। खुला सिमाना नियमन तथा सिमाविवाद समेत आपसी सदभावमा निराकरण गर्नमा पहलु कदमले नतिजा निकाल्न सक्ने देखिन्छ।
५. २१औँ शताब्दीको नेपाली सेना:
कुनै पनि देशकाे सेना बलियो हुनुपर्छ मात्र होइन संविधानको अधीनमा, व्यावसायिक, सक्षम, आधुनिक, उच्च मनोबलयुक्त र नागरिकप्रति उत्तरदायी हुनुपर्छ। नेपाल अपबाद हुन सक्दैन्। आधुनिक सेनाको शक्ति संख्या मात्र होइन intelligence, cyber, AI, surveillance, technology, rapid response र deterrence क्षमतामा पनि निहित हुन्छ।
६. Himalayan Air Force : समयको आवश्यकता: नेपालको भौगोलिक तथा रणनीतिक अवस्थाअनुसार अत्याधुनिक प्रविधियुक्त “Himalayan Air Force” स्तरको हवाई सुरक्षा क्षमताबारे राष्ट्रिय बहस आवश्यक छ। Air surveillance, drone/counter-drone, cyber तथा aerospace क्षमताले नेपालको आकाशीय सुरक्षा, विपद् उद्धार र रणनीतिक स्वायत्तता सुदृढ गर्न सक्छ।
७. सेना र आन्तरिक सुरक्षा:
बाह्य खतराविरुद्ध केन्द्रित रहनुपर्ने राष्ट्रिय सेना विगतकेही दशकदेखि विभिन्न आन्तरिक सुरक्षा तथा संकटमा पटक–पटक परिचालन हुनुपरेका अवस्थाले नेपालको राष्ट्रिय सुरक्षा चुनौतीमुक्त नभएको देखाउँछ। त्यसैले प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा सम्बन्धित राज्य संयन्त्रको क्षमता र समन्वय सुदृढ गरी सेनालाई मूल राष्ट्रिय प्रतिरक्षा दायित्वमा केन्द्रित रहने वातावरण बनाउनुपर्छ।
८. सुरक्षा र लोकतन्त्र : सन्तुलित सम्बन्ध
राष्ट्रको सुरक्षा कमजोर पारेर लोकतन्त्र बलियो रहन सक्दैन; तर लोकतन्त्रको नागरिक नियन्त्रण र जवाफदेहिताबिना सुरक्षा पनि दीर्घकालीन रूपमा बलियो रहन सक्दैन। संविधान, नागरिक सर्वोच्चता, कानुन र संस्थागत जवाफदेहिता दुवै अपरिहार्य छन्।
९. विगतकाे पाठ, भविष्यतर्फ सुधार:
विगतको अनुत्तरदायी राजनीति, दशक लामो कथित माओवादी जनयुद्ध तथा Gen-Z आन्दोलनका क्रममा भएको जनधन र राष्ट्रिय धरोहरको क्षतिबाट पाठ सिक्नुपर्छ। नयाँ पुस्ताको राजनीतिक चेतना, परिवर्तनको आकाङ्क्षा र सुधारको साहसलाई राष्ट्रिय पुनर्निर्माणको ऊर्जामा रूपान्तरण गर्नुपर्छ। संक्रमणकालीन न्यायअन्तर्गत सत्य निरूपण लगायत बाँकी काम निष्पक्ष, विश्वसनीय र समयमै सम्पन्न गरिनुपर्छ।
१०. राष्ट्रिय राजनीति र बाह्य दाउपेच:
नेपालको राष्ट्रिय राजनीति र राष्ट्रिय सुरक्षा संस्थामा बाह्य शक्ति वा स्वार्थको अनुचित दाउपेच लाग्न दिनु हुँदैन। राज्य, सरकार, राजनीतिक दल, सुरक्षा निकाय, बौद्धिक जगत र नागरिक समाज राष्ट्रिय हितप्रति सजग र गोलबद्ध रहनुपर्छ।
११. नेपाल : Bridge Nation:
सुरक्षित, स्थिर र समृद्ध नेपाल विश्व मानवता, शान्ति र सहकार्यको Bridge Nation बन्न सक्छ। आफ्नो सार्वभौमिकता र रणनीतिक स्वायत्तता जोगाउँदै नेपालले भारत र चीनको सार्वभौमिकता, सुरक्षा र साझा हितको सम्मान तथा संरक्षणमा समेत सहयोगी भूमिका निर्वाह गर्न सक्छ।
१२. साझा राष्ट्रिय संकल्प:
राष्ट्रिय आबश्यकता र प्राथमिकतमा सबैकाे एक्यबद्धता हुनु पर्दछ। राष्ट्रिय सुरक्षा सेना वा सरकारको मात्र विषय होइन। राष्ट्रिय एकता, सुशासन, सक्षम कूटनीति, आर्थिक सबलता, प्रविधि, नागरिक चेतना र रणनीतिक आत्मनिर्भरता यसका आधार हुन्। राज्य सरकार असफल भए अर्को सरकार बन्छ; तर राष्ट्रिय सेना असफल भयो भने देशको झण्डा र पहिचान नै बदलिन सक्छ।अत: राष्ट्रिय राजनीतिलाई अस्थिर बनाउने र सेनालाई असफल बनाउने कसैकाे चाल सफल हुन नदिन एवम् सेना लगायत सकल सुरक्षा निकायहरूको मनोबल उ्च्च कायम राख्नु स्वयं सुरक्षा राष्ट्र सेवकहरु मात्र होइन, राज्य र प्रत्येक नागरिकको साझा राष्ट्रिय दायित्व हो। राष्ट्रिय संकल्प सहित
व्यहारमा अनभूति हुनु आजकाे आवश्यकता हाे;
*राष्ट्रिय हित सर्वोपरि- पहिला नेपाल र नेपाली।
*सार्वभौमिकता अक्षुण्ण।
*सुरक्षा–सक्षमता, राष्ट्रिय निष्ठा र जवाफदेहिता।
*माटो सुहाउँदो, उत्तरदायी लोकतन्त्र।
*सुरक्षित, स्वाभिमानी र समृद्ध नेपाल।
अन्यथा, इतिहासले हामीलाई क्षमा गर्नेछैन र भावी पुस्ताले सम्मान गर्नेछैन।
