ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकको सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनाई तीव्रता दिइएको बताएकी हुन् । उनले अफवाह र भ्रमको पछि नलागी आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गरिन् ।

अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्नसक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिइँदै आएकामा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको स्पष्ट गरिन् ।

मन्त्री यादवले हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै १० हजार १६६ मेट्रिकटन कुल भण्डारण क्षमता, एक करोड ७५ ग्यास सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको जनाइन् । उनले संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइ अगुगमन अघि बढाइएको बताउँदै एलपी ग्यास सिलिण्डरको ट्राकिङका लागि नेपाल आयल निगमबाट आवश्यक प्राविधिक कार्य आरम्भ गरिएको बताइन् ।

मन्त्री यादवले माग बढेकाले तीन महिनाका लागि भारतबाट ग्यास आयतको कोटा थप्न कूटनीतिक माध्यमबाट पहल भइरहेको पनि स्पष्ट गरिन् । उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिइएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *