बूढीगण्डकी आसपासका बासिन्दालाई साँझसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ । गोरखाको आरुघाटमा बूढीगण्डकी नदीको बाढीले खतराको तह पार गरेपछि नदी आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीको सतह अहिले केही घटे पनि बूढीगण्डकी करिडोरमा जोखिम नहटेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार बिहान ७ः५० बजे आरुघाटमा नदीको सतह ५.१ मिटर पुगेको थियो । आरुघाटमा पाँच मिटरलाई खतराको तह मानिन्छ । अहिले पानीको सतह केही घटेको भए पनि निरन्तर घटबढ भइरहेकाले जोखिम यथावत् रहेको उनले बताए ।

नदीमा पानीको बहाव एकै किसिमले नरहेको र सतहमा उतारचढाव देखिएकाले बूढीगण्डकी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी थुनिने र पुनः खुल्ने क्रमले पानीको सतहमा परिवर्तन आएको हुन सक्ने महाशाखाको अनुमान छ । ‘बूढीगण्डकीको अधिकांश भाग साँघुरो भएकाले पानीको सतह बढ्दा थप क्षति हुन सक्छ,’ पराजुलीले भने ।

उनका अनुसार बाढीको जोखिम त्रिशूली नदीको दोभानसम्म रहेकाले नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आवश्यक छ ।

यद्यपि, बेनीघाटभन्दा तल त्रिशूली नदी क्षेत्रमा भने तत्काल ठूलो जोखिम नरहेको महाशाखाको आकलन छ । बूढीगण्डकी त्रिशूलीमा मिसिने क्षेत्रमा पानीको सतह बढे पनि त्रिशूलीमा करिब एक मिटर मात्रै सतह बढ्न सक्ने अनुमान गरिएको पराजुलीले बताए ।

महाशाखाले बाढीको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *