उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल । उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै त्यसको निगरानी गरेको जनाएको छ । पछिल्लो प्रक्षेपण क्षेत्रीय सुरक्षा तनाव थप बढिरहेका बेला भएको हो ।

दक्षिण कोरियाको संयुक्त चिफ्स अफ स्टाफले उत्तर कोरियाले पूर्वी समुद्री क्षेत्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उत्तर कोरियाबाट केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको जानकारी दिएको थियो ।

त्यसको केही समयपछि मन्त्रालयले जापान आसपासका क्षेत्रमा कुनै प्रत्यक्ष असर नपरेको स्पष्ट पारेको छ ।

यो प्रक्षेपण उत्तर कोरियाले जापानमाथि आफ्नो सैन्य उपस्थिति विस्तार गरेर क्षेत्रलाई ‘युद्धको अवस्थामा’ पुर्यायको आरोप लगाएको भोलिपल्ट भएको हो । जापानले हालै प्रशान्त क्षेत्रमा आफ्नो सुरक्षा क्षमता विस्तार गर्ने नीति अघि बढाएको छ ।

जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले यसै साता चीन, रुस र उत्तर कोरियाबाट बढ्दो सुरक्षा चुनौती देखिएको भन्दै सेनाको क्षमता ‘तत्काल र संकटको भावना’ का साथ सुदृढ बनाउनुपर्ने बताएका थिए।

यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको वक्तव्यमा जापानको सैन्य नीतिमा आएको परिवर्तनका कारण प्योङयाङले थप सैन्य विकल्प विकास गर्ने बताए ।

सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ घोषणा गर्दै आएको छ । त्यसयता उसले क्षेप्यास्त्र तथा आणविक कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेको छ ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले रुससँग आर्थिक तथा सैन्य सम्बन्ध अझ सुदृढ बनाएको छ । युक्रेन युद्धमा मस्कोलाई सैनिक र हतियार उपलब्ध गराएबापत उसले आर्थिक सहायता, खाद्यान्न, ऊर्जा तथा सैन्य प्रविधि प्राप्त गरिरहेको विश्वास गरिएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो ‘सबैभन्दा शत्रुतापूर्ण’ प्रतिद्वन्द्वीका रूपमा चित्रण गर्दै आएको छ । यद्यपि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले सन् २०२५ को जुनमा पदभार ग्रहण गरेपछि कुनै पूर्वसर्त नराखी प्योङयाङसँग वार्ता गर्न प्रस्ताव गरेका थिए । तर उत्तर कोरियाले ती प्रस्तावप्रति हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

जापानको रक्षा मन्त्रालयले किम यो जोङको पछिल्लो अभिव्यक्तिबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गर्दै आफ्नो रक्षा नीति पूर्ण रूपमा आत्मरक्षामा आधारित रहेको जनाएको छ । मन्त्रालयले जापानको सैन्य क्षमता अन्य मुलुकलाई धम्क्याउने उद्देश्यले नभई युद्ध रोक्ने उद्देश्यले विकास गरिएको स्पष्ट पारेको छ ।

जापानले सन् २०२५ मा आफ्नो रक्षा बजेट ९.७ प्रतिशतले बढाएर ६२ अर्ब २० करोड अमेरिकी डलर पुर्‍याएको थियो । यो सन् १९५८ यताकै उच्च अनुपात मानिन्छ । यसबारे उत्तर कोरियाका प्रमुख साझेदार चीनले पनि जापानमा ‘नयाँ सैन्यवाद’ बढिरहेको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ ।

सन् १९५०–५३ को कोरियाली युद्ध शान्ति सन्धिबिना केवल युद्धविराममा टुङ्गिएकाले उत्तर र दक्षिण कोरिया आज पनि प्राविधिक रूपमा युद्धकै अवस्थामा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *