काठमाडौँ । पूर्वी रोमानियाको बाकाउ सहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ।
रोमानियाको आपतकालीन निकायका अनुसार आइतबार बिहान करिब ३ः२१ बजे बाकाउस्थित चिमिएई सडक क्षेत्रमा हिँडिरहेका उनीहरूलाई गुडिरहेको रेलले ठक्कर दिएको थियो।
बाकाउ आपतकालीन अवस्था निरीक्षणालयले जारी गरेको विज्ञप्तिमा रेलको ठक्करबाट घाइते भएका दुवैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मृतकहरू नेपाली नागरिक रहेको जनाइएको छ। यद्यपि, उनीहरूको परिचय सार्वजनिक गरिएको छैन । घटनाको वास्तविक कारण तथा उनीहरू रेलमार्गमा कसरी पुगे भन्ने विषयमा प्रहरी र सम्बन्धित रेल्वे अधिकारीहरूले अनुसन्धान थालेका छन्।
