सिन्धुलीस्थित सुनकोशी नदीमा कार खस्यो, कारमा सवार तीन जना बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र कार एकापसमा ठोक्किँदा कार सुनकोशी नदीमा खसेको छ। दुर्घटनामा कारमा सवार तीन जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बस र विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटको नम्बर नखुलेको कार एकापसमा ठोक्किएको थियो।

ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालक सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामा, स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक जना हेल्पर नदीमा बेपत्ता भएका छन्।

दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *