काठमाडौं । गत असार १३ गते बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका–३१ शान्तिनगरमा होलसेल तरकारी पसलतर्फ जाँदै गरेकी एक महिलासँग मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले ‘पेप्सीकोला जाने बाटो कता हो ?’ भनेर सोधे। महिलाले बाटो देखाइदिएपछि उनीहरू केही अगाडि गएर पुनः फर्किए। त्यसपछि मोटरसाइकलको पछाडि बसेका व्यक्तिले महिलालाई लडाएर घाँटीमा लगाएको करिब दुई दशमलव पाँच तोला सुनको सिक्री जबरजस्ती लुटेर फरार भए।
यस्तै शैलीका लुटपाटका घटना गत असार १५ गते काठमाडौंको नरेफाँट, काभ्रेपलाञ्चोकको धुलिखेल तथा साउन ७ गते काठमाडौं महानगरपालिका–६ धापासी हाइटमा पनि भएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले सिसिटिभी फुटेजलगायतका प्रमाणका आधारमा घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पछिल्लो एक महिनामा भएका ती घटनामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ३४ वर्षीय कर्मा तामाङ नेतृत्वको समूह संलग्न रहेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। अनुसन्धानकै क्रममा समूहका केही सदस्य पक्राउ परेका थिए।
प्रहरीका अनुसार कर्मा पुनः लुटपाट गर्ने योजनासहित काठमाडौं आएको अवस्थामा प्रहरीको निगरानीमा परेका थिए। बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा बसेर लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार राति करिब १०ः२५ बजे बूढानीलकण्ठ–१३ चुनिखेलमा प्रहरीसँग उनको जम्काभेट भएको थियो।
प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेपछि कर्माले खुकुरी प्रहार गर्न खोजेका थिए। त्यसपछि प्रहरीले घुँडामुनि गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएर उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले विगतका गुण्डागर्दी, चोरी र लुटपाटका घटनाको विश्लेषण गर्दा कर्मा समूह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताए। उनका अनुसार समूहका सदस्य पक्राउ परेपछि कर्माको बसोबास र आवतजावतका सम्भावित स्थान पहिचान गरी खोजी सुरु गरिएको थियो।
प्रहरीले घटनामा संलग्न काभ्रेपलाञ्चोकका ३० वर्षीय प्रतिमान गोले, ३० वर्षीय पासाङ घिसिङ, ३६ वर्षीय मनोज तामाङ तथा कास्कीका २९ वर्षीय आले गुरुङलाई साउन १५ गते बनेपाबाट पक्राउ गरेको थियो। अनुसन्धानका अनुसार समूह काठमाडौं आएर लुटपाट गर्ने र त्यसपछि सिन्धुपाल्चोक फर्केर सुरक्षित रहने रणनीति अपनाउने गरेको थियो।
घिमिरेका अनुसार समूहले विशेषगरी बिहान सबेरै वा राति अबेर सडकमा निस्किएका वृद्धवृद्धा तथा महिलालाई लक्षित गरी लुटपाट गर्ने गरेको देखिएको छ। अपरिचित व्यक्तिजस्तै बाटो सोध्ने बहानामा उनीहरूले लुटपाट गर्ने गरेका थिए। घटनामा नम्बर प्लेट परिवर्तन गरिएका दुई वटा मोटरसाइकल प्रयोग गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले कर्माको साथबाट एउटा मोटरसाइकल, एउटा खुकुरी, मोटरसाइकलका पाँच वटा नम्बर प्लेट तथा मोटरसाइकल चोरी गर्न प्रयोग हुने औजार बरामद गरेको छ। अनुसन्धानका क्रममा उनीहरूले मोटरसाइकल चोरी गरी लुटपाटपछि उपत्यकाबाहिर लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको पनि खुलेको छ।
पक्राउ परेका व्यक्ति ‘पटके अपराधी’
प्रहरीका अनुसार पक्राउ परेका कर्मा र उनका समूहका सदस्यहरू यसअघि पनि विभिन्न अपराधमा पटकपटक पक्राउ परिसकेका छन्। पेसाले सवारी चालक रहेका कर्मा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट फरार भएका थिए। त्यसपछि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल चोरी र सिक्री लुटपाटमा सक्रिय रहेको तथा उनीविरुद्ध यसअघि नौ वटा चोरी तथा डाँका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
प्रतिमान गोले नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका बेला भदौको आन्दोलनका क्रममा भागेका थिए। पछि पुनः पक्राउ परेर कारागार पठाइएका उनी कैद सजाय पूरा गरी छुटेको तीन सातामात्र भएको प्रहरीले जनाएको छ। उनीविरुद्ध २०८२ जेठ र साउनमा प्रहरी वृत्त महाराजगञ्ज र चापागाउँमा डाँका तथा चोरीका मुद्दा दर्ता भएका थिए।
पासाङ घिसिङले कर्मा समूहका लागि लुटपाटमा प्रयोग हुने मोटरसाइकल चोरी गरेर उपलब्ध गराउने र काठमाडौंमा २० भन्दा बढी मोटरसाइकल चोरीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। सुन पसल सञ्चालन गर्दै आएका मनोज तामाङले चोरी गरेर ल्याइएका सुनका गरगहना गलाएर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेका थिए। आले गुरुङ समूहको ‘ब्याक फोर्स’का रूपमा सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
