एम्बुलेन्सलाई निजी सवारीसरह प्रयोग गरी गैरकानुनी लाभ लिएको भन्दै पूर्ववडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का पूर्ववडाध्यक्ष विजय कुमार यादवविरुद्ध भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यादवले २०७७ असोज १४ गते भारतीय राजदूतावासमार्फत निःशुल्क प्राप्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा दाखिला नगरी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेका थिए। एम्बुलेन्स सञ्चालनको लगबुक, आम्दानी–खर्चको अभिलेख तथा सेवा विवरणसमेत नराखी सेवा सञ्चालनबाट उठेको रकम सरकारी कोषमा दाखिला नगरेको आरोप छ।

अनुसन्धानमा एम्बुलेन्स ३ वर्ष ५ महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर सञ्चालन भएको र नेपाल रेडक्रस सोसाइटी धनुषाले तोकेको दररेटका आधारमा १५ लाख ९ हजार २५० बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको अख्तियारको निष्कर्ष छ।

अनुसन्धानका क्रममा यादवले ३ लाख ८१ हजार ५९७ दाखिला गरेकाले बाँकी ११ लाख २७ हजार ६५३ असुलउपर गर्न तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *