काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा सुरक्षाकर्मीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु र दर्जनभन्दा बढी घाइते भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाले मंगलबार विज्ञप्ति जारी गरी विवाद समाधानका लागि संयम अपनाउनुपर्ने अवस्थामा रातिको समयमा गोली चलाइएको दाबी गर्दै देवानगञ्ज–४ का ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेकपाले नागरिकमाथि गोली चलाउनु गम्भीर सुरक्षा लापरबाही, मानवअधिकार उल्लङ्घन तथा गैरन्यायिक हत्या भएको आरोप लगाएको छ। सामाजिक सद्भाव कायम राख्नुपर्ने संवेदनशील समयमा सरकारको सुरक्षा संयन्त्र संयमित र जिम्मेवार बन्न नसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टीले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन, दोषीमाथि कानुनी कारबाही, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
साथै, वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न, सामाजिक सद्भाव कायम राख्न तथा सबै पक्षलाई संयम अपनाउन नेकपाले अपील गरेको छ।
