दुबई । इरानले अमेरिका आफ्नो बमबारी अभियान रोकेसम्म आफूले पनि सैन्य आक्रमण नगर्ने जनाएको छ । एक वरिष्ठ इरानी अधिकारीले रोयटर्ससँग कुरा गर्दै अमेरिका आक्रमण रोकेसम्म इरानले पनि आफ्नो सैन्य कारबाही स्थगित राख्ने बताएका हुन् ।
अमेरिकाले लगातार १३ दिनसम्म इरानमाथि हवाई आक्रमण गरेपछि पेन्टागनले शुक्रबार रातिदेखि बमबारी अभियान स्थगित गरेको छ। त्यसयता शनिबार र आइतबार कुनै पनि अमेरिकी हवाई आक्रमण भएको जानकारी सार्वजनिक भएको छैन।
यसअघि अमेरिकाको प्रत्येक हवाई आक्रमणपछि इरानले पनि अमेरिकी सैन्य अड्डा रहेका छिमेकी मुलुकहरूलाई लक्षित गर्दै जवाफी आक्रमण गर्दै आएको थियो। तर पछिल्ला दुई दिनदेखि इरानले पनि कुनै सैन्य कारबाही नगरेको बताइएको छ।
इरानी अधिकारीले तेहरानको नीति ‘आक्रमणको बदलामा आक्रमण’ रहेको उल्लेख गर्दै अमेरिका आक्रमण रोकिए इरानले पनि कारबाही रोक्ने सन्देश वासिङ्टनलाई पठाइसकिएको बताए।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासलाई थप समय दिनका लागि हवाई आक्रमण रोक्ने निर्णय गरेको जानकारी दिएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा वाल्ट्जले ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिन चाहेको बताए। यद्यपि उनले यसबारे थप विवरण खुलाएनन्।
अमेरिकी अधिकारीहरूका अनुसार पछिल्ला दुई साताको हवाई अभियानका क्रममा होर्मुज जलडमरूमध्य क्षेत्रमा इरानबाट हुन सक्ने खतरालाई रोक्न तय गरिएका अधिकांश सैन्य लक्ष्यहरू समाप्त भइसकेका छन्।
ती अधिकारीहरूका अनुसार संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले राष्ट्रपति ट्रम्पलाई ठूलो स्तरको सैन्य कारबाही पुनः सुरु गर्दा अमेरिकी हतियार भण्डारमा थप दबाब पर्ने जोखिमबारे सचेत गराएका छन्।
विशेषगरी मध्यपूर्वमा प्रयोग भइरहेका अमेरिकी हवाई प्रतिरक्षा प्रणालीका अवरोधक मिसाइलहरूको मौज्दात घट्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यद्यपि जनरल केनको कार्यालय र अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
