जनकपुरधाम । चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय, लहानले सांसद गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ५ सय रुपैयाँ जरिवाना तिराएको हो ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिवाना बुझाएको प्रहरीले जनाएको छ । गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोध भएको थियो ।
त्यसपछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ५ सय रुपैयाँ जरिवाना गरेको हो । सांसद गुप्ताले आफ्नो आलोचना भएपछि क्षमा मागेका छन् ।
उनले भनेका छन्, ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु। अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’
यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।
