डा. केसीका मागका विषयमा सरकारलाई पुरानै सरकारको पारा नदोहोर्याउन तोसिमाको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सत्याग्रहमा रहेका डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत कार्कीले केसीका जायज माग तत्काल सम्बोधन गर्न आफूले शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको पनि ध्यानाकर्षण गराइसकेको जानकारी दिएकी छन् । उनले आफ्नो पार्टीको सरकारलाई पुरानै सरकारको पारा नदोहोर्याउन चेतावनी पनि दिएकी छन्।

यस्तो छ तोसिमा कार्कीको भनाई

अनसन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो–आएछ, सर अनसन बस्नुभयो । अब हाम्रो सरकारले तत्कालै डा. केसीका जायज मागहरु सम्बोधन गरोस् र भनोस् ‘सर तपाईँ जस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनसन बस्नै पर्दैन, यो सरकार तपाईँकै हो, तपाईँ सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाव दिन सक्नुहुन्छ। विगतका सरकारमा तपाईँले पटक पटक शोसक र शासक देख्नुभयोहोला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो । जनताको सुन्छ, तपाईँ जस्तो निस्वार्थी विज्ञको पनि सुन्छ। भयो सर, अनसन छोडिदिनुस्, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईका जायज मागहरुमा हामी तपाईँसँगै सहकार्य गर्दै अघि बढ्नेछौँ । अघिल्ला सरकारले तपाईँसँग सम्झौता गरेका मागहरु पनि हामी पुरा गर्नेछौँ।’

उहाँका जायज मागहरु तत्काल सम्बोधन गर्न शिक्षामन्त्री स्वयम् तथा प्रधानमन्त्रीको सचिवालयको पनि ध्यानाकर्षण गराइसकेको छु । ढिला नहोस्। शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि, जनदबाब बढेपछि त पहिला पनि सम्बोधन हुन्थ्यो, हामीले त्यो अवस्था कुर्नहुन्न ! डा. केसीले पटक पटक भनिरहनुभएको छ–’मैले गेटामा दशरथ चन्द विश्वविद्यालयको विरोध गरेको होइन । सुदूरपश्चिमको गेटामा ३०० सैय्या अस्पताल चाहियो, एमबिबिएस चाँडै सुरु गर्नुपर्यो भन्ने नै म हुँ। मैले विश्वविद्यालयको विरोध गरेको भन्ने भ्रम फैलाईएको छ।’

उहाँको मागलाई समर्थन गर्नु नगर्नु आ–आफ्ना धारणा होलान् तर मागहरुलाई र विगतका उपलब्धिहरुलाई नै तोडमोड गरिनु भनेको एक सत्याग्रहीको त्याग र संघर्षमाथिको अपमान हो। त्यसो नगरौँ । उहाँको योगदान नभुलौँ । भ्रममा नपरौँ। सुदूरपश्चिममा तत्कालै विशिष्ट सेवासहितको अस्पताल बनाउनुपर्यो र चिकित्सा शिक्षा पनि सुरु गर्नुपर्यो भनेर पटक पटक अनसन बसेर विगतका सरकारलाई त्यहाँ ७५ विघामा त्यत्रो संरचना, भवन, र सेवा दिने व्यवस्था गर्न वाध्य बनाउनुभएको पनि डा. गोविन्द केसीको सत्याग्रहले नै हो।नत्र त चिकित्सा शिक्षा ऐनको कति पटक धज्जी उडाउन खोजियो भन्ने कुराको साक्षी तपाईँ हामीनै छौँ।

३०० त के १०० शैय्या अस्पतालको पनि दरबन्दी स्विकृती दिन पनि वर्षौँ लगाईयो, म आफैँले कति पटक विगतका सरकारलाई यही विषयमा झकझकाएको थिएँ। विडम्बना, ६०० शैय्याको लागी बनिसकेको त्यो संरचनाले आजसम्म ३०० शैय्या अस्पतालको समेत स्वकृति पाएको छैन। कहिले मेडिकल कलेज, कहिले प्रतिष्ठान, कहिले विश्वविद्यालय भन्दै प्रकृया लम्बाईरह्यो । यता सुदूरपश्चिमले भने वर्षौँसम्म सेवा विनाका ति ठूला ठूला भवनमा कहिले अस्पताल सुरु होला भनि कुर्दै बस्नुपर्ने बाध्यता बनाइयो, जबकी त्यहाँ ३०० शैय्याको अस्पताल सुरु गर्न विगतका सरकारलाई कहिले रोकेकै थिएन । हो विगतका सरकारले गरेको जस्तो अलमल र ढिलाई अब नहोस् भन्न खोजेका हुन् डा.केसीले ।

म स्वयम् ले पनि अघिल्लो कार्यकालमा गेटामा तत्काल ३०० शैय्या अस्पताल सुरु गर्नुपर्यो र विधेयक पनि यथाशिघ्र टुङ्गो लाउनपर्यो भनेर पटक पटक संसदमा र संसदीय समितिमा बोलेको थिएँ साथै विधेयकका छलफलहरुमा सक्रिय भूमिका निभाएको थिएँ। केही सम्बोधन भए, केही भएनन् तर खुसीको कुरा हो, अन्ततः गेटामा बन्दै गरेको संरचना अब सुदूरपश्चिमको मात्र होइन चिकित्सा शिक्षासँग मात्र डेडिकेटेड देशकै एक मात्र विश्वविद्यालयको रुपमा शहिद दशरथ चन्द विश्वविद्यालय अघि बढाइएको छ, यो स्वागतयोग्य उपलब्धि हो। यो उपलब्धिलाई गुम्न दिन हुन्न।

रह्यो कुरा डा. केसीलाई मेरो समर्थनको–नेपाली जनताको हित केन्द्रित अभियानमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि आदरणीय प्रा डा.गोविन्द केसीसँग सधैँ थिएँ, छु, रहनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *