गोंगबुको होटलमा युवतीको हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौंको गोंगबुस्थित एक होटलको कोठाभित्र युवतीको शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन ३ गते बिहान करिब ११ बजे काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित माउन्टेन एक्सेल्सिभा होटलको कोठाको काठको बक्स पलङभित्र एक महिलाको शव रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

प्रहरीले प्राविधिक विश्लेषणका आधारमा मृतकको पहिचान कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनार रहेको जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ लटाली स्थायी घर भई हाल काठमाडौं–३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्दै आएका २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *