नेपालका कम्युनिष्ट कार्यकर्ता साथीहरु, तपाईँहरुभित्र रहेको दासत्व कहिले अन्त्य हुन्छ ?

-झलनाथ खनाल ।

नेपालका नेताहरु सामन्ती मानसिकताबाट आजपनि ग्रस्त भएको देखिँदै । बेलायत एउटा पुँजीवादी राज्य हो र त्यहाँ पुँजीवादी पार्टीहरुले राज्य गरिरहेका छन् । यो भन्दा अघिको निर्वाचनमा लेवर पार्टीले बहुमत प्राप्त गरेर केर स्टारमर प्रधानमन्त्री बनेका थिए । तर विगत मे महिनामा भएको स्थानीय तहको निर्वाचनमा लेवर पार्टीले धेरै सिट गुमायो । त्यसले गर्दा लेवर पार्टी भित्र प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने माग उठ्यो । त्यो नैतिकताको प्रश्न थियो । त्यहाँ संसदमा पराजय भोगेको होइन ।

स्टारमरको सरकार भएका बेला स्थानीय चुनावमा मात्र पराजय भोगेको हो । तर पार्टी भित्रको आवाज, संसदीयपरम्परा र जनताको आवाजलाई ध्यानमा राखेर प्रधानमन्त्री स्टारमरले राजीनामा दिए । कुनै गडवडी बिना लेवर पार्टीको वैठक सम्पन्न भयो । पार्टी नेताको रुपमा एण्डी बर्नहामलाई चुनियो । उनी २० जुलाई २०२६ मा वेलायतका नयाँ प्रधानमन्त्री नियुक्त भए । पार्टी भित्र सत्ता हस्तान्तरणको यो राम्रो नमुना हो ।

एउटा पँजीवादी मुलुकको लेवर पार्टीले यस्तो उदाहरण पेश गर्छ । तर हाम्रो देशमा राष्ट्रिय चुनावमा नै सर्वनाक पराजय बेहोर्दा पनि र पार्टीको साथसाथै आफूसमेत लज्जाजनक हार खाँदा पनि नेपालका वामपन्थी पार्टीका नेताहरुले पदमा झण्डिनै रहनु पर्ने र पद छाड्नै नसकिने कस्तो जवर्जस्त सामन्ती मानसिकता हो यो ? नैतिकता भनेको कुनै पनि नेताले आफैं देखाउनु पर्ने हो । तर यहाँ त कार्यकर्ताहरुले नैतिकता देखाउन भन्दा पनि पदबाट हट्न तयार देखिदैंनन् ।

नेपालमा रहेको यो हजारौं बर्षको थुक्के सामन्तवादको प्रतिविम्व बाहेक यो अरु केही होइन । भन्ने “सर्वहारा नेता” टाउको भरि बोक्ने थुम्के सामन्तवादी चिन्तन अनि कसरी पार्टी र क्रान्तिले प्रगति गर्छ ? खाली ८ वर्ष मात्र अघि नेपालव्यापी रुपमा राष्ट्रिय, प्रादेशिक र स्थानीय तहमा समेत विजय प्राप्त गरेको पार्टीलाई आज १०० जना सडकमा निकाल्न नसक्ने हविगत बनाउने चिन्तन पनि यही होइन र ? नेपालका कम्युनिष्ट कार्यकर्ता साथीहरु तपाईँहरु भित्र रहेको दासत्व कहिले अन्त्य हुन्छ ? नेतृत्वमा रहेको राजतन्त्रवादी चिन्तन कहिले उन्मुलन हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *