काठमाडौं । सरकारले नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गरिने जनाएको छ ।
सोमबार दिउँसो बसेको सचिवहरूको बैठकले मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारिएसँगै कर्मचारीहरूको दरबन्दी मिलान र संगठन तथा व्यवस्थापन सर्वेक्षण नसकिएसम्म लोकसेवामा नयाँ माग नगर्ने निर्णय गरेको थियो ।
तर सोमबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गरिने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने भनी मिति २०८३ साउन ४ गतेको सचिव बैठकबाट निर्णय भएको सम्बन्धमा यदि कुनै पदमा पदपूर्ति गर्न आवश्यक भएको, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि कुनै पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

