पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शतप्रतिशत पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

कार्यान्वयनमा आएको नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको सुरुवात भएको भन्दै उनले विगतको पुँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिए ।तोकिएको पुँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व पनि उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्न उनको निर्देशन छ ।

‘गएको आर्थिक वर्ष पुँजीगत खर्च निराशाजनक रह्यो । जम्मा ४९ प्रतिशत हाराहारी मात्रै। राजस्व पनि साढे १२ खर्ब हाराहारीभन्दा उठेन,’ अर्थमन्त्री वाग्लेले सचिवहरूलाई भने, ‘चालु नयाँ बजेटमा यो नतिजा स्वीकार्य हुँदैन । कम्तीमा ८० प्रतिशत पुँजीगत खर्च हुनुपर्छ । मिसन १६ खर्बको राजस्व संकलन लक्ष्य पूरा हुनुपर्छ ।’

बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी र व्यावहारिक कठिनाइ निर्धक्क रूपमा अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढाउन उनले सचिवहरूलाई आग्रह गरे ।

अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्ययोजन गरेको र त्यसको सदुपयोग गर्न पनि उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *