देशलाई संकटबाट मुक्त गर्न एक थैली माटो सधैँ गोजीमा राखेर हिँड्ने गरौं

-डा. युवराज संग्रौला ।

रसियन सभ्यताको एउटा खम्बा देशभक्ति । रसियन साहित्य संसारकै धनी सभ्यता हो। माटोको प्रेम झल्काउने यो कथा रसियाका हरेक नानीहरुलाई आमाले सुत्ने बेलामामा भन्ने कथा हो । इल्या मुरोमेट र पवित्र माटोको यो कथा मैले रसियन कथा संग्रहमै पढेको हो । इल्या मुरोमेट रुसी इतिहास र लोककथाका प्रसिद्ध लोकनायक वा वीर योद्धा हुन् । उनी शारीरिक रूपमा मात्र होइन, मानसिक र आत्मिक रूपमा पनि देशभक्तिको प्रतीक मानिन्छन् ।

इल्या जन्मैदेखि शारीरिक कमजोर थिए र ३३ वर्षको उमेरसम्म उनी ओछ्यानबाट उठन सकेनन् । एकदिन उनको घरमा केही सन्तहरू आए। उनीहरूले इल्याको पवित्र मनलाई बुझेर उनलाई एउटा विशेष जल पिलाए । त्यो पिउनासाथ इल्याको शरीरमा अचम्मको शक्ति आयो। सन्तहरूले उनलाई भने, ‘इल्या, अब तिमी घरमा बस्ने होइन । तिम्रो मातृभूमिमाथि विदेशी दुष्ट शक्तिहरूले आँखा गाडेका छन्। जाऊ र आफ्नो देशको रक्षा गर।’

इल्या देशको रक्षाका लागि जाने भए । घरबाट निस्कनु अघि उनकी आमाले उनलाई एउटा सानो कपडाको थैली दिइन्। त्यो थैलीमा उनीहरू बस्ने गाउँको एक मुठ्ठी माटो थियो । आमाले भनिन्, ‘छोरा, जब तिमी युद्धभूमिमा थाक्नेछौ वा तिम्रो हिम्मत टुट्न लाग्नेछ, यो माटोलाई सुँघ्नु र आफ्नो छातीमा लगाउनू । यसले तिमीलाई तिम्री आमा र मातृभूमिको मायाको याद दिनेछ।’ उनी आमाले दिएको सानो थैलो खोकिल्लामा हालेर हिँडे ।

इल्याले जीवनभर धेरै ठूला युद्धहरू लडे । एकपटक ’तातार’ आक्रमणकारीहरूले रुसको राजधानी किभलाई घेरेका थिए र रुसी सेना परास्त हुने अवस्थामा थियो । इल्या आफैँ पनि घाइते र थकित भएका थिए। उनले आमाले दिएको त्यो एक मुठ्ठी माटो निकालेर आफ्नो छातीमा राखे र भुइँको माटोलाई ढोगे।
मातृभूमिको माटो छुनासाथ उनको शरीरमा हजारौँ गुणा बढी शक्ति आयो। तब जुरुक्क उठे र शत्रुको विशाल सेनासंग एक्लै लडे र पराजित गरेर धपाए। देशलाई दास हुनबाट बचाए।

उनी फर्किए घर आए। आमाले आफूले दिएको थैली मागिन इल्याले खोकिल्लाबाट निकालेर आमालाई दिए । आमाले त्यो माटो जमिन पोख्दै भनिन्, ‘एउटा सच्चा नागरिकका लागि आफ्नो देशको माटो सबैभन्दा पवित्र र शक्तिशाली हुन्छ।’ के हामी यस्ता नागरिक बन्न सक्यौं ? हामीलाई देश माटो र ढुंगाको थुप्रो लाग्छ । तर देश त हाम्रो पहिचान हो । यो पहिचान मेटियो भने हामी केबल मानव प्राणी बन्छौं, नागरिक होइन । सोचौं र देशलाई संकटबाट मुक्त गर्न एक थैली माटो सधैँ गोजीमा राखेर हिँड्ने गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *