लन्डन । वेस्ट ह्याम युनाइटेडका कप्तान जारोड बोवेनले क्लब प्रिमियर लिगबाट रेलिगेट भए पनि आफू क्लबमै रहने प्रतिबद्धता जनाएका छन् ।
गत सिजन प्रिमियर लिगबाट रेलिगेट हुँदै वेस्ट ह्याम च्याम्पियनसिपमा झरेपछि बोवेन क्लब छाड्न सक्ने चर्चा चलेको थियो । तर २९ वर्षीय इंग्ल्यान्डका फरवार्डले ग्रीष्मकालीन विश्रामका क्रममा आफ्नो भविष्यबारे गम्भीर रूपमा सोचविचार गरेपछि वेस्ट ह्याममै रहने निर्णय गरेका हुन् ।
“गर्मीको बिदामा धेरै सोच्ने समय मिल्छ र दिमागमा धेरै कुरा खेलिरहेका हुन्छन्,” बोवेनले भने ।
“मैले भविष्यमा फुटबलबाट सन्न्यास लिएपछि के कुराले सबैभन्दा धेरै खुसी दिन्छ भन्ने सोचेँ । त्यसपछि वेस्ट ह्याममै रहने निर्णय गर्नु मेरो लागि निकै सहज थियो ।”
उनले वेस्ट ह्यामलाई पुनः प्रिमियर लिगमा फर्काउने लक्ष्य नै आफूलाई क्लबमा बसिरहन प्रेरित गर्ने मुख्य कारण भएको बताए ।
बोवेनले हालै चेक गणतन्त्रको प्राग पुगेर क्लबका प्रमुख लगानीकर्ता डानियल क्रेटिन्स्कीसँग भेट गरेको पनि खुलासा गरेका छन् । उक्त भेटमा क्लबलाई तत्कालै प्रिमियर लिगमा फर्काउने योजनाबारे छलफल भएको उनले बताए ।
यस्तै, वेस्ट ह्यामका प्रशिक्षक नुनो एस्पिरिटो सान्तो पनि टोलीसँगै रहेका छन् । शीर्ष डिभिजनमा लगातार १४ वर्ष बिताएपछि रेलिगेसनमा परेको क्लबलाई पुनः प्रिमियर लिगमा फर्काउने जिम्मेवारी उनकै काँधमा रहनेछ ।
“क्लबको भविष्य र अघि बढ्ने योजनाबारे उनीहरूले देखाएको महत्वाकांक्षाले मलाई निकै प्रभावित बनायो,” बोवेनले भने ।
सन् २०२० मा हल सिटीबाट वेस्ट ह्याममा आबद्ध भएका बोवेनले हालसम्म क्लबका लागि २८० खेलमा ८५ गोल गरेका छन् ।
“यो निर्णय गर्न धेरै समय लागेन, किनभने यो क्लब मेरो लागि निकै विशेष छ । म यहाँ साढे छ वर्षदेखि छु । च्याम्पियनसिपबाट आएको एक युवा खेलाडीबाट क्लबको कप्तान बन्न पाउनु मेरो लागि ठूलो सम्मान हो,” उनले भने ।
बोवेनले रेलिगेसनपछि पनि ५० हजार समर्थकले सिजन टिकट नवीकरण गरेको उल्लेख गर्दै समर्थकहरूको क्लबप्रतिको निष्ठा र प्रेमको प्रशंसा गरे ।
“च्याम्पियनसिपमा रहँदा पनि ५० हजार सिजन टिकटधारी हुनु आफैंमा ठूलो उपलब्धि हो । यसले समर्थकहरू क्लबलाई कति माया गर्छन् र पुनः प्रिमियर लिगमा फर्किएको हेर्न कत्तिको आतुर छन् भन्ने देखाउँछ,” उनले भने ।
