सान्तोस फर्किए नेयमार, भविष्य अझै अनिश्चित

साओ पाउलो । ब्राजिलका स्टार फुटबलर नेयमार आफ्नो बाल्यकालको क्लब सान्तोस फर्किएका छन् । तर उनको भविष्य भने अझै अन्योलमै रहेको छ । सान्तोससँगको उनको वर्तमान सम्झौता आगामी डिसेम्बरमा सकिने भएकाले नयाँ सम्झौता हुने वा नहुने विषयमा चासो बढेको छ ।

सन् २०२५ को जनवरीमा साउदी अरेबियाको अल–हिलाल छाडेर सान्तोस फर्किएका ३४ वर्षीय नेयमारले हालै सम्पन्न फिफा विश्वकप–२०२६ पछि ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे पनि संकेत गरेका छन् ।

लगातार चोटका कारण प्रभावित बनेका नेयमार करिब तीन वर्षपछि ब्राजिलको विश्वकप टोलीमा फर्किएका थिए । तर उनले प्रतियोगितामा दुई खेलमा जम्मा ३७ मिनेट मात्र खेल्ने अवसर पाए । राउन्ड अफ १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल बाहिरिँदा नेयमारले पेनाल्टीमार्फत गरेको गोल नै उनको एकमात्र योगदान रह्यो ।

खेलपछि भावुक बनेका नेयमारले, “यहीँसम्म हो,” भन्दै राष्ट्रिय टोलीबाट बिदा हुन सक्ने संकेत गरेका थिए । अन्तिम सिटी बज्नेबित्तिकै उनी मैदानमै भावुक हुँदै आँसु झारेका थिए ।

यसबीच, एक समर्थकले तयार पारेको एआई भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा सानो उमेरका नेयमारले अहिलेका नेयमारलाई सन् २०३० मा ब्राजिललाई छैटौं विश्वकप जिताउने सपना पछ्याउन आग्रह गरेका छन् । त्यसमा नेयमारले तीन वटा हाँस्दै–रुँदै गरेको इमोजी प्रतिक्रिया दिएका थिए ।

गत वर्ष बायाँ घुँडाको शल्यक्रिया गरेका नेयमारले चोटका कारण यस सिजन ब्राजिलियन सिरी ए अन्तर्गत सान्तोसका १९ खेलमध्ये केवल आठ खेल मात्र खेले । सीमित खेल खेले पनि उनले चार गोल गर्नुका साथै दुई असिस्ट दिएका छन्, जसले बार्सिलोना र पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा देखाएको उनको उत्कृष्ट प्रतिभाको झल्को पुनः देखाएको छ ।

एएफपीसँग कुरा गर्दै सान्तोसका एक स्रोतले नेयमारसँगको नयाँ सम्झौताको निर्णय क्लबको डिसेम्बरमा हुने बोर्ड निर्वाचनको नतिजामा धेरै हदसम्म निर्भर रहने बताएका छन् । नेयमारलाई पुनः सान्तोस फर्काउन महत्त्वपूर्ण भूमिका खेलेका क्लब अध्यक्ष मार्सेलो टेक्सेराले पुनः निर्वाचन लड्ने वा नलड्नेबारे अहिलेसम्म कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।

“पहिलो प्रश्न नेयमारले फुटबल खेल्न नै छाड्ने हुन् कि भन्ने थियो,” क्लबका एक अधिकारीले नाम नखुलाउने सर्तमा एएफपीलाई बताए ।

यता नेयमारका पिता तथा एजेन्ट नेयमार सान्तोस सिनियरले भने छोरालाई फुटबल यात्रा जारी राख्न सार्वजनिक रूपमा आग्रह गरेका छन् ।

“छोरा, फुटबल खेल्न नछोड । फेरि बलसँग रमाऊ, मैदानमा फेरि मुस्कुराऊ । भोलिको डर नमान,” उनले इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको सन्देशमा लेखेका छन् ।

यसैबीच, अमेरिकी मेजर लिग सकर (एमएलएस) मा नेयमारको सम्भावित स्थानान्तरणबारे पनि चर्चा भइरहेको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार एफसी सिन्सिनाटीसँग वार्ता भए पनि सम्झौता हुन सकेन ।

यदि नेयमार एमएलएस पुगेमा उनी इन्टर मियामीका लियोनेल मेस्सी, अर्लान्डो सिटीका एन्टोइन ग्रिजमन र भ्यानकुभर ह्वाइटक्याप्सका थोमस मुलरसँग एउटै लिगमा खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *