काठमाडौं । निर्वाचन आयोगले तत्कालीन समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई निर्वाचित गरिएको छ ।
जनता समाजवादी पार्टीको सिफारिसमा गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक पद्धतिअन्तर्गत निर्वाचित गर्नुपर्ने खस—आर्य समूहको रिक्त महिला सदस्य पदमा लीलादेवी सिटौलाको नाम सिफारिस गरिएको हो ।
‘निर्वाचन आयोगले लीलादेवी सिटौलालाई निर्वाचित भएको घोषणा गर्ने निर्णय भएको छ’, आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले भने, ‘त्यसको राजपत्रमा सूचना प्रकाशित गर्न र सम्बन्धित संसद् सचिवालयमा लेखी पठाउने काम भएको छ।’
भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर सार्वजनीक गरेको नेपालको नयाँ नक्सा संविधानको अनूसुचीमा समावेश गर्न ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध संशोधन हालेपछि सरिता गिरीलाई समाजवादी पार्टीले स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरणमा चित्त नबुझाएको र पार्टीको ह्वीप उल्लंघन गरेकोमा पार्टीले पार्टीको सदस्य र सांसद दुवै पद दुबै पद नरहने गरी गिरीलाई निष्कासन गरेको थियो ।