सरकारको कार्यशैलीप्रति रास्वपाभित्र बढ्दै असन्तुष्टिको स्वर

काठमाडौँ । सरकार गठनको एक सय दिन पुगेसँगै सरकारको कार्यशैलीलाई लिएर पार्टीभित्रैबाट आलोचनाको ग्राफ बढ्न थालेको छ । एक सय दिन नपुग्दै सरकारको आलोचना गर्नेमा पार्टीका सांसद अमरेश सिंह मात्र थिए । तर सय दिन पुगेपछि भने सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउने रास्वपाका सांसदको लहर नै लाग्न थालेको छ । खासगरी श्रृंखलाबद्ध आत्मदाह प्रकरण, सरकारी नियुक्ति, विभिन्न संचारमाध्यम तथा विपक्षी नेताका घर अगाडि शंकास्पद गाडी पार्किङको घटनालाई लिएर सरकारप्रति असन्तुष्टि बढेको हो ।

सोमबार विभिन्न संचारमाध्यम र कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङको घटनलाई लिएर मंगलबारको संसद बैठकमा रास्वपाका सांसद प्रकाशचन्द्र परियारले सरकारलाई खबरदारी गरे । उनले भने, ‘इतिहास साक्षी छ, हिजो निरंकुश शाहीकालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे । म आफै त्यसको साक्षी हुँ सभामुख महोदय ! त्यतिबेला नझुकेको नेपाली सञ्चारमाध्यम, आज कार्यालय अघि दुई चार वटा गाडी तेस्र्याउँदैमा झुक्लान र ? हामी सत्तामा छौँ भन्दैमा वा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्, समस्या कहाँ छैन र ? हो सञ्चार माध्यममा समस्या छन, महात्मा गान्धीले भनेका थिए, प्रेस एउटा ठूलो शक्ति हो, तर जसरी अनियन्त्रित पानीको भेलले सम्पूर्ण गाउँ डुबाउँछ र बाली नष्ट गर्छ, त्यसैगरी अनियन्त्रित कलमले विनाश मात्र गर्छ। प्रेस सच्चिने ठाँउमा सच्चिनै पर्छ, यो हाम्रै दायित्व हो।’

उनी मात्र होइन रास्वपाकी सांसद रिमा विश्वकर्माले पनि सरकारलाई सजग गराइन् । उनले नीति सुधारको दौडमा दौडिरहेको सरकारले हतार गरेको टिप्पणी गरेकी छन् । उनले भनिन्,‘नीति सुधारमा रहेको हाम्रो सरकारले कतै हतार गरिरहेको छैन ? अनि जसका लागि नीति बनाउँदै छौँ कतै उनीहरु त्यसैको मारमा त परिरहेका छैनन् ? के साँचै नागरिकले न्याय पाउन, आफ्नो आवाज सुनाउन आत्मघाती कदम चाल्नुपर्ने अवस्था आएको हो ? एक्सप्रेसवेमा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु–हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ । सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि प्राथमिक एजेण्डामा राख्न जरुरी छ ।’

रास्वपा सांसद अमरेश सिंहले त यो सरकारले पनि जनतामा आशा जगाउन नसकेको बताए । उनले व्यवसायी, युवा, विद्यार्थी कोही पनि अहिले सन्तुष्ट नरहेका बताए । उनले भने, ‘हामी राज्य सञ्चालन गर्दैछौँ। तर, जनतामा चरम निराशा छ । यो देशमा बाँच्न सकिन्न, केही गर्न सकिन्न भन्ने भाष्य निर्माण हुँदैछ। हामी संसद्बाट त्यो खालको भाष्य निर्माण नगरौँ। म सबैलाई आग्रह गर्छु, राज्य र जनता रहे मात्रै हामी राजनीति गरौँला। आज सत्तामा हुने भोलि नरहौँला। जनता र लोकतन्त्र रहे मात्रै हामी राजनीति गरौँला। हामी सबैले जनता र लोकतन्त्रको रक्षा गरौँ।’

सरकारी नियुक्तिलाई लिएर पनि रास्वपाभित्र असन्तुष्टि देखिएको छ । रास्वपाका सांसद श्रीराम न्यौपानेले यसै विषयलाई लिएर असन्तुष्टि जनाएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफू मानार्थ अध्यक्ष भएको संस्थाकी कर्मचारी आस्था भट्टलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेका छन् । यही नियुक्तिलाई लक्षित गर्दै सांसद न्यौपानेले सामाजिक संजालमा लेखेका छन्, ‘स्वार्थको द्वन्द्वको हतियार प्रयोग गरेर अरूलाई झार्नु भनेको आफू चढ्न अर्काको खुट्टा तान्नु मात्र हो।’

यता महामन्त्रीमा पराजित रास्वपाका सांसद मनिष झाले विभिन्न सञ्चार गृह तथा नेताहरूको निवास अगाडि शंकास्पद रूपमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत नेता झाले यस किसिमको कार्यलाई ’बचपना’ र ’स्तरहीन’ हर्कतको संज्ञा दिएका हुन् । उनले यसमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *