-नारायण गाउँले ।
ए सरकार ! एउटा भुइँमान्छेले अत्यधिक चर्को ट्राफिक फाइनबाट आत्तिएर आत्मदाह गर्यो । आधा मरिसकेको र असह्य पीडामा देखिने उसलाई सडकको बीचबाट घिसार्दै हस्पिटल लगियो । अब यस्तो घटनामा चुप बस्ने कि, स्याब्बास सरकार भन्ने कि, नियम मिचिस्, बल्ल खाइस् भन्ने कि, के भन्ने त ?
के कुनै एउटा नेतालाई, ठूलो मान्छेलाई त्यही अवस्थामा त्यसरी घिसार्दै हस्पिटल लगिएको र उसको मृत्यु भएको भए यसलाई सामान्य मानिने थियो र ? हस्पिटल जान लागेको गाडी एकछिन चेकजाँचका लागि रोकिँदा त मन दुख्छ, रिस उठ्छ, ढिलो हुन्छ कि भन्ने त्रास हुन्छ । राजधानीको मुटुमैं सरकारी अधिकारीकै आँखा अगाडको त्यो दृश्य सामान्य नै थियो त ? आफ्नै नजिकको कसैलाई त्यो तस्बीरमा राखेर हेर्यो भने पनि त्यो घटना कति निर्मम, क्रूर र अमानवीय लाग्छ भन्ने सजिलै बुझिन्छ ।
सरकारले आगो लगाएको होइन, आगो लगाउने चाह या नियत पनि होइन । यो त सबैले बुझेकै छन् नि । तर यस्तो संवेदनशील मुद्दामा मान्छेले प्रतिक्रिया नै नदिने भन्ने त हुँदैन नि । स्वाभाविक रूपमा रिस पोख्ने त राज्यलाई नै त हो नि । हो, राज्यका निकायमा यतिबेला तपाईंहरू हुनुहुन्छ । तर जो भएको भए पनि आवेग र रिस पोखिने त त्यहीँ न हो । हिजो प्रेम आचार्यलाई पनि राज्यले नै मट्टीतेल छर्केर आगो लगाएको त होइन नि, तर तपाईं हामी सबैलाई रिस उठ्यो र सरकारलाई रिस पोखेको त सत्य हो नि । यस्ता घटनामा बोल्नु, रिस पोख्नु भनेको राज्यलाई, सरकारलाई आगामी दिनमा थप संवेदनशील बनाउनु भन्ने हो । यस्ता घटना सकेसम्म नदोहोरियून् भन्नु हो । दुर्भाग्यवश यस्ता दुर्घटनाहरू हिजो पनि घटे, आज पनि घट्दै छन् र भोलि पनि घट्न सक्छन् । तर कोसिस त गर्न पर्यो, अनि त्यो कोसिस गर्ने काम सरकारकै त हो नि । अरू कसलाई भन्ने हो र ?
यस्तो मानवीय मुद्दामा बोल्नु भनेको राजनीति गर्नु होइन । राजनीतिलाई उत्तरदायी, करुणामय र संवेदनशील बनाउने कोसिस गर्नु हो । यो सरकारको विरोध मात्रै होइन, हाम्रो सिङ्गो राज्य, सामूहिक चेतना र अक्षमताप्रतिको आक्रोश हो । यो नियम मान्न पर्दैन भन्ने आबाज होइन । यो कसले कति गल्ती बाँडेर लिने या कसको टाउकोमा हाल्ने भन्ने मुद्दा नै होइन । अनि यो एउटा पार्किंग फाइनको मुद्दा पनि होइन । आम युवामा फैलिएको निराशा र मुश्किल बन्दै गरेको ’कस्ट अफ लिभिङ्’ को मुद्दा पनि हो ।
सरकारले जिम्मेबारीबोध गर्ने, आफ्ना नागरिकलाई आश्वस्त बनाउने र समस्याको जड पत्ता लगाउनेतिर कोसिस गर्ने पो हो । यस्तो घडीमा सरकार एकदम संवेदनशील र करुणामयी देखिनुपर्ने हो । तर जथाभावी पार्किंग गरेकाले गणेश नेपालीकै गल्ती थियो भन्ने साबित गर्न सिङ्गो सरकार र दल लागेको अनुभव हुनु साह्रै दुःखद छ ।
नियम–कानुन पालना नगरी कुनै पनि देश सभ्य र सम्पन्न बन्दैन । तर त्यस्ता नियमकानुन पनि समयानुसार परिवर्तन र संशोधन हुँदै आएका छन् । एभिडेन्स–बेस्ड भएर, स्थानीय अवस्था र वस्तुस्थिति हेरेर नियम कानुन बन्ने र संशोधन गर्ने काम हुन्छ । नत्र त एक सेट संविधान र कानुन बनेकै छ । संसद् सधैँका लागि हटाए पनि हुन्थ्यो । फेरि नियमकानुन त सबैलाई हुन्छ । माथिको मान्छेलाई झन् बढी हुन्छ । तर हामीले गुडीरहेको गाडीको हुडबाट नियमविपरीत टाउको निकालेर हात हल्लाएको पनि धेरै भएको छैन ।
हिजो र आजका सरकारी गतिविधि, टिप्पणी र सन्देशमा अनावश्यक ईगो, बचकाना हरकत र अधीरताको स्पष्ट गन्ध आएको छ । सरकारले यो विरोधलाई व्यक्तिगत मानेको, जिÞम्मेवारी पन्छाउन खोजेको, पार्किंगको मात्रै समस्या देखाउन खोजेको र नियम नमान्ने गणेश नेपालीहरू नै देशको समस्या भएको जस्तो भाष्य बनाउन खोजेको त होइन जस्तो देखिन थालेको छ । एउटा जिम्मेदार र अति नै ठूलो गणित भएको पार्टी र उसको सरकार छ भन्ने विश्वास कठोरता या उत्ताउलोपनले होइन, विनम्रताले पनि दिन सकिन्छ ।
कथाहरूमा हनुमानजीलाई आफ्नो शक्ति र सामथ्र्य बिर्सिने श्राप परेको भन्ने सुन्न पाइन्छ । सरकारले पनि कतै आफ्नो अद्भुत जनविश्वास, अभेद्य गणित र ऐतिहासिक अवसरलाई राम्रोसँग चिन्न नसकेको पो हो कि ? अलि व्यक्तिगत स्तरका ईगो र आवेगलाई व्यवस्थापन गर्न नसकेको हो कि ? केहीको आफ्नो स्वार्थ होला तर देशविदेशका लाखौँ नेपालीले स्वार्थरहित समर्थन र विश्वास गरेका छन् भन्ने नभुले हुन्थ्यो, चुनावको परिणाम नै आफैमा सर्वोच्च आश्चर्य र सरप्राइज भएकाले अन्य सानातिना स्टन्टमा नलागे हुन्थ्यो । अनि इतिहासकै सर्वाधिक बलशाली सरकार भएकाले विरोधका दुईचार स्वरमै उत्ताउलोपन देखाउँदै मसल प्रदर्शनतिर ध्यान नदिए हुन्थ्यो भन्ने मजस्ता केही भुइँ मान्छेलाई लागेको छ । बाँकी त, झोले भन्ने र ओठभरिको जबाफ फर्काउने विकल्प पनि छँदै छ ।
