काठमाडौँ । टुरिष्ट गाईड एशोसियन अफ नेपाल (टुर्गान) को अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित भएकी छन् ।
शनिबार सम्पन्न टुर्गानको ३३ औँ वार्षिक साधारण सभामा भएको निर्वाचनमा उत्तमप्रसाद देबकोटालाई पराजित गर्दै प्रधानाङ्ग अध्यक्षमा निर्वाचित भएकी हुन् । प्रधानाङ्गले २ सय १९ मत पाउँदा देवकाेटाले १ सय सात मत पाएका थिए ।
संस्थाका तीन उपाध्यक्षहरु भने निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद दुवाडी, प्रथम उपाध्यक्षमा राजेन्द्रराज बज्रचार्य र द्वितीय उपाध्यक्षमा रघुनाथ प्रधान निर्वाचित भएका हुन् ।
अध्यक्षसहित चार पदाधिकारीका लागि भएको मतदानमा महासचिवमा सुविन सितिखु १६६ मत, सचिवमा रविन चैनात्व १८० मत र कोषाध्यक्षमा चनकेशरी कोजु १७४ मतसहित निर्वाचित भएका हुन् । महासचिवमा रोहितकुमार फुयालले १६३ मत, सचिवमा तेजबहादुर श्रेष्ठले १४६ र कोषाध्यक्षमा ईश्वरबहादुर ढकालले १५३ मत पाएका थिए ।
कार्यसमितिका सदस्यहरुमा लक्ष्मी गिरी, सृजना सुवेदी, रामेश्व सिंखडा, ऋषिराज उपाध्याय, हरिकृष्ण सिलवाल, सुमन महर्जन र रविदास दोङ्ग पनि निर्विरोध निर्वाचित भएका छन् ।
टुर्गानको निर्वाचनको लागि निर्वाचन समितिले ८ सय ४६ सदस्यको मतदाता नामावली सार्वजनिक गरेको थियो ।


