काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग माग गरेका छन् ।
प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहारको निशानामा परेको सुनारको भनाइ छ । पछिल्लो समय एक महिलासँगको भनिएको अडियो सार्वजनिक भएपछि उनले त्यसलाई आफूविरुद्ध गरिएको प्रचारको संज्ञा दिएका छन् ।
सुनारले सार्वजनिक भएका आरोपहरू कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबीसमेत गरेका छन् । उनले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
‘ममाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई हार्दिक अपील गर्न चाहन्छु,’ उनले भनेका छन् ।
भ्रष्टाचारविरुद्ध प्रश्न उठाउँदा आफू अन्याय र घृणाको निशानामा परेको उनको दाबी छ । यद्यपि, आफूमाथि हुने छानबिनमा पूर्ण सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारेका छन् ।
सुनारले सार्वजनिक भएका आरोपबारे भ्रममा नपर्न आम नागरिकलाई आग्रहसमेत गरेका छन् ।
