गणेश नेपाली आत्मदाह प्रकरणमा यो सरकारले कसलाई दिने हो दोष ?

काठमाडौँ । इलामका प्रेमप्रसाद आचार्यले २०७९ माघ १० गते दिउँसो नयाँबानेश्वरस्थित संसद भवनमा संसद बैठक चलिरहेका बेला आत्मदाहको प्रयास गरे । गम्भीर रूपमा घाइते भएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको भोलिपल्ट निधन भयो । आचार्यले हरेक काम गर्ने प्रयास गर्दै कतैबाट सफलता पाउन नसकेको कारण आत्महत्या गर्नुपरेको सामाजिक संजालमार्फत उल्लेख गरेका थिए । आचार्यले आत्महत्या गरेका बेला प्रचण्डको नेतृत्वमा सरकार थियो । उपप्रधान तथा गृहमन्त्री थिए रवि लामिछाने । अनि काठमाडौँको मेयर थिए अहिलेका प्रधानमन्त्री बालेन साह । आचार्यको मृत्यु हुनु राज्यको असफलता मुख्य कारण भएको भन्दै बालेनले तीन सय भन्दाबढी शब्दको फेसबुक स्टाटस लेखे । उनले भनेका थिए, ‘एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेले पनि आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम भएको भन्दै सामाजिक संजालमा स्टाटस लेखे । उनले भनाई थियो, ‘एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो ।’

प्रेम आचार्यले आत्मदाह गर्दा विगतका सरकारलाई दोष देखाउने रवि लामछिाने र बालेन साह आज तीन महिनादेखि एकलौटी सरकार बनाएर मुलुक हाँकिरहेका छन् । उनीहरुकै पार्टीले मुलुक हाँकिरहेका बेला बिहीबार दिउँसो मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ । पठाओ चलाए जीविका चलाइरहेका गणेश प्रहरीे मोटरसाइकलमा ह्वील लक लगाएर पटक पटक दुःख दिएका कारण तनावमा आइ यस्तो गरेको बताइएको छ । गणेशको यस्तो भनाई आएपछि अहिले महानगर प्रहरी र ट्राफिक प्रहरीले आफूहरुले त्यस्तो नगरेको भन्दै स्पष्टीकरण दिइरहेका छन् । जसले जे भनेपछि गणेशले आत्दाह प्रयास गर्नुको पछाडि राज्य आतंक नै भएको भन्दै आलोचना भइरहेको छ ।

संविधानविद डा. भीमार्जुन आचार्यले काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको घटनालाई महानगरको बर्बरता भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमार्फत आचार्यले महानगर भित्र सवारी साधन चलाउने प्रत्येक सर्वसाधारण यो आतंकबाट पछिल्ला दिनमा प्रताडित बन्ने गरेका बताएका हुन् । उनले के यस्तो आतंक र बर्बरता मच्चाउने छुट राज्य र महानगरलाई छ ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘काठमाडौँ महानगर प्रहरीको ह्वीललक आतंकका कारण मुगुका एकजना असहाय युवकको कारूणिक अवस्थाको समाचार बाहिर आयो । महानगर भित्र सवारी साधन चलाउने प्रत्येक सर्वसाधारण यो आतंकबाट पछिल्ला दिनमा प्रताडित बन्ने गरेका छन् । के यस्तो आतंक र बर्बरता मच्चाउने छुट राज्य र महानगरलाई छ ? कतै त सवारी साधन एकछिन ठडाउनै पर्ने हुन्छ । के त्यसलाई आपराधिककरण गर्नेपर्छ ? के यो नगरमा सामान्य मान्छे बस्नै नपाउने हो ?’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले यो गणेश नेपालीको आत्मदाह होइन, राज्यले गरेको हत्या भएको टिप्पणी गरेका छन् ।

यस्तो छ वाग्लेको भनाई
मुगुका २६ वर्षीय युवा गणेश नेपालीले आत्मदाह प्रास गरेको अत्यन्त दुःखद र हृदयविदारक घटनाले नेपालको राजनीतिक तथा सामाजिक अवस्था कति संवेदनशील, जटिल र ज्वलन्त रहेछ भन्ने वास्तविकता उजागर भएको छ । वीर अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना । लोकप्रिय जनमत र जनताको उच्च अपेक्षा र विश्वाससहित सरकार बनेको १०० दिनमा नै यसरी जनताले आत्मदाह गर्नुपर्ने अवस्था अत्यन्त दुःखद मात्रै होइन, सरकारलाई गम्भीर चुनौती र चेतावनी हो । तर यो नेपालीको आत्मदाह होइन, राज्यले गरेको हत्या हो । नेपालीको आत्मदाहसँगै नेपाली जनताको आशा, विश्वास र सपनाको पनि दहन भएको छ। वास्तवमा यो मौन विद्रोह हो। यस्तो विद्रोहको प्रारम्भ हो। यो विद्रोहको ज्वालाबाट को–को खरानी हुनेछन् ? यसको जवाफ समयले दिने छ । हिजो प्रेम आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने सरकार, पार्टी र नेतालाई जनताले दण्डित गरे, आज गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाउने सरकार, पार्टी र नेतालाई पनि जनताले हिसाब–किताब गरेका छन्। सबैलाई चेतना भया!

नेकपा एमालेका नेता गोकुल बास्कोटा राज्य आतंक यस्तै हुँदै जाने हो भने देश मशानघाट हुने चेतावनी दिएका छन् । उनी लेख्छन्, ‘पहिले मिटरब्यज कि सहकारी पीडितले संसद भवन अघि एकजनाले आत्मदाहको प्रयास गरेपछि पुरानो सरकारको तीव्र विरोध भयो । अहिले एकले जरिवानाको डरले सो प्रयास गरे भने दुई सुकुम्बासीले आत्महत्या गरिसके । जब अन्याय र सत्ताको पीडाको चरमसीमा नागरिकले सहन सक्दैन । र,यस्तो हुन्छ तब देश मशानघाट हुन्छ।’

राजनीतिक विश्लेषक डम्बर खतिवडा लेख्छन्, ‘प्रेम आचार्यको आत्मदाह ओली–देउबा–प्रचण्ड तीन तिकडमबाज सत्ताप्रतिको वितृष्णाको पराकाष्ठा थियो । बालेन सत्ताले अर्का युवा गणेश नेपालीलाई आत्मदाह प्रयास गर्ने हालतमा पुर्याएछ । पुराना भ्रष्टहरुको विकल्प ठग र रहस्यवादी डिजिटल जादुगर हैनन्, हुन सक्दैनन् भन्ने फेरि पुष्टि भयो । राज्य चरित्रको नागरिकमैत्री रुपान्तरणको साटो शासकको अनुहारमा मात्रै परिवर्तन खोज्ने हाम्रो सामाजिक चेतनास्तर पुनरावलोकन नहुन्जेल यो दुश्चक्र चलिरहन्छ।‘
मानवअधिकारकर्मी चरण प्रसाईँ यसलाई रास्वपा सरकारको दम्भको परिणाम भएको टिपप्णी गर्छन् । उनी भन्छन्, ’गणेश नेपालीको आत्मदाह प्रयासको घटना सामान्य होइन । यो प्रधानमन्त्री बालेनको शासन शैलीप्रति चरम आक्रोस र एक नागरिकको बिद्रोहको अभिव्यक्ति हो । यो रास्वपा सरकारको दम्भ नीतिको परिणाम हो । प्रधानमन्त्रीको सुशासनको असफलताको ) प्रतिबिम्ब हो। नागरिकमाथि भएका दमन तथा हेपाहा प्रवृत्तिको परिणाम हो। गणेश नेपालीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

सरकार नागरिकमाथि कति क्रुर छ भन्ने कुरा रास्वपाकै सांसद क्रान्तिशिखा धितालको भनाईबाट स्पष्ट हुन्छ । अरुका कुरा नपत्याएपनि रास्वपाकै सांसदको कुरा त पक्कै पत्याउनुपर्छ । उनले केही दिनअघि लेखेकी थिइन्, ‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँशुले हामी सबैलाइ पोल्नुपर्छ । सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपथ्र्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *