-सीमा अभास।
नेपाली काङ्ग्रेस आदर्श, मौलिक दर्शन, लोकतान्त्रिक र राजनैतिक चरित्रकासाथ बलियो पार्टी भएर उभिनको लागि जति मिहिनेत, त्याग, तपस्या, बलिदानी गर्यो त्यती नेपालमा भएका कुनै पनि पार्टीमा मौलिक दर्शन, त्याग, बलिदानी र राजनैतिक चरित्रकासाथ उभिनै सकेनन् । त्यसै कारणले युद्ध बिसाएर आएका प्रचण्ड पटकपटक काङ्ग्रेसभित्र प्रवेश गरेर चितवन, विराटनगर, ओखलढुंगा लगायतका काङ्ग्रेसीगढहरूमा आफ्ना ज्वाइँछोरी र आरोपी जिताउन सफल भए । काङ्ग्रेसी नेताले उर्दी नै गरे प्रचण्डका उम्मेदवारलाई समर्थन र भोट नदिए कारबाही गर्ने ।
एमालेसँग पनि यसै गरि मिल्यो । साँच्चै निष्ठामा बसेका कम्यूनिष्ट र निष्ठाका काङ्ग्रेसको कहिँकतै चरित्र, स्वभाव, सोचाई, बोलाई मिल्दैन । आआफ्नो अलग विशिष्टता हुनुपर्ने हो थियो । त्यो देखिएन ।
तर, यिनीहरू पटकपटक मिले । किन मिले भनेँ पार्टी, पद र अधिकारको नाममा गरिने डकैती, लुट, भ्रष्टको चरित्र एकै हुन्छ । त्यसैले मिल्न सके । हरेक पार्टीभित्रका असल चरित्र र निष्ठामा बसेकाहरू क्रमैसँग किनारा लाग्दै गए । नाम मात्र पार्टी भयो । दर्शन, सिद्धान्त, निष्ठा, राजनैतिक चरित्र छायामा पर्दै गयो ।
फलस्वरूप यिनीहरूको यो हविगत भयो । अहिले काङ्ग्रेस फुट्ने सङ्घारमा छ । किन फुट्ने ? फुटेर के उखाड्ने ? ती फुट्नेले कसरी भन्लान् ? कसले पत्याउला ?
यदि काङ्ग्रेसले पार्टीको ईतिहास, बलिदानी, त्याग, निष्ठा के हो भनेर चिन्न सकेका र आफूलाई सच्याउँछौँ भन्न सकेका भए अझै पनि काङ्ग्रेसको विकल्पमा कुनै पार्टी उभिन समय पर्खनुपथ्र्यो । न त पार्टीको माया, न त निष्ठा र आदर्श ! पार्टी फुट्तै गर्दा कोइरालाहरूले चाहिँ कोइराला निवासअगाडि उभिएर बिपीलाई पढ्नु र विपी, गणेशमान, मंगलादेवी सिंह, शैलजा आचार्य, सुशील कोइराला, नोना कोइराला लगायतका तस्विर अगाडि राखेर वातचित गर्ने सहास गरून् भन्ने लाग्छ ।
लामो समयदेखि पार्टीभित्र रहेका अलोकतान्त्रिक चरित्रका नेतासँग असन्तुष्ट काङ्ग्रेसभित्रमा थुप्रैमान्छे रास्वपा भए । कम्यूनिष्टहरू श्रम संस्कृति पार्टीतिर जान्छन् भन्ने मेरो आँकलन थियो । श्रम संस्कृतिमा अध्यक्षको बोली र व्यावहारसँग डराएर भनेजसरी खुलेका छैनन् कि भन्ने मलाई लाग्छ । रास्वपाको पनि सिद्धान्त, दर्शन के हो ? स्पष्ट पार्नुपर्ने हो । सिद्धान्त र दर्शन नभएको पार्टीको स्थायित्व पनि गाह्रै हुनसक्छ । मुल कुरा राजनैतिक चरित्र निर्माण जरूरी छ ।
