-डा. युवराज संग्रौला ।
एसियाको राजनीतिक इतिहास रोचक छ, र पेचिलो पनि । दक्षिण एसिया र चीनको दुई हजार वर्ष लामो इतिहासको सूक्ष्म अध्यन गर्दा केही महत्त्वपूर्ण प्रवृत्ति देखिन्छ। जब राजा चतुर, विवेकी जनप्रेमी र साहसिक छ राज्यले चौतर्फी विकास गर्यो, चीनमा होस् वा मगद वा नेपालमा । चीनमा चीन स ह्वाङ्गले चीनको एकीकरण गरे, सामन्ती बिर्ता प्रणालीलाई फ्याँकेर प्रिफेक्चर र काउन्टिको प्रशासनिक ढाँचा तयार पारे । चीन बलियो थियो । तर उनका भारदारले योग्य राजकुमारको हत्या गरेर कमजोर बिलासी राजकुमारलाई संम्राट बनाए । चीनमा वंश तासको घर लडेझैँ लड्यो। त्यस्तै भयो हान, सुइ, ताङ्ग, सोङ्ग, मिङ्ग र चिङ्ग वंशका शासनमा पनि। उता भारतमा राजा अशोक पछि त्यस्तै भयो। गुप्त, मित्र, पाल वंशमा पनि यस्तै भयो। नेपालमा संस्थापक नेपाल निर्माता यलम्बर र उनका केही उत्तराधिकारी हुँदा नेपाल सम्पन्न र बलियो भयो । तर जब बिलासी जँड्याहा राजा भए किरांत वंश मासियो। बृषदेव, मानदेव, अंशुबर्मा, नरेन्द्रदेव, पृथ्वीनारायण, जंगबहादुर र राजा महेन्द्र हुँदा नेपाल शक्तिशाली र धनी थियो। तर जब कमजोर शासकले सत्ता पायो राज्य तासको घर बन्यो।
कमजोर, निरंकुश, र भ्रष्ट शासक सत्तामा पुग्दा राज्य व्यवस्था तासको महलझैँ ढले। यो केवल संयोग होइन। यो एसियाली राजनीतिक संरचनाको अन्तरनिहित प्रणालीगत कमजोरी (Systemic Flaw) हो भन्न सकिन्छ।
१. एसियाली राज्य व्यवस्थाको अन्तरनिहित दोष ‘व्यक्तिकेन्द्रित संस्था’मा रहेको इतिहासले देखाउँछ । शासक कमजोर हुनासाथ पुरै व्यवस्था भत्किने दोष एसियाली संरचनामा पाइन्छ। इतिहास ऐना जस्तै छ।
२. पश्चिमी देशहरू (विशेष गरी बेलायत र युरोप) ले विस्तारै राजाको शक्ति कटौती गरेर ‘Institutions(संस्था’ ) जस्तै संसद, कानुनको शासन, कर्मचारीतन्त्र) लाई बलियो बनाएको इतिहास छ, जसले गर्दा राजा पागल वा कमजोर हुँदा पनि राज्य व्यवस्ता भत्किएन। तर, सोही समयको चीन, भारत र नेपालमा राज्यको अस्तित्व ’संस्था’ मा होइन, ’व्यक्ति’ (सम्राट/राजा वा प्रधानमन्त्री) मा निर्भर रह्यो। जब संस्था भन्दा व्यक्ति ठूलो हुन्छ, तब व्यक्तिको पतन नै राज्यको पतन बन्न पुग्यो।
३. यसलाई कसरी सिद्धान्तबद्ध गर्ने ? हामीले चीन, भारत र नेपालको यो प्रवृत्तिलाई ऐतिहासिक र राजनीतिक रूपमा व्याख्या गर्न ३ वटा मुख्य सिद्धान्तहरू निर्माण गर्न सक्छौँः
क) ‘वंशवादी चक्र’ र दैवी अधिकारको सिद्धान्त (The Dynastic Cycle & Mandate of Heaven)
चीनमा यसलाई Mandate of Heaven (स्वर्गीय जनादेश) भनिन्थ्यो भने भारत र नेपालमा राजधर्म वा दैवी अधिकार । चीनमा राजालाई वा शासकलाई स्वर्गका प्रतिनिधि भनियो र उनको अधिकारमा प्रश्न गर्नु हुन्न भन्ने राजनीति मान्यता राखियो। यता दक्षिण एसियामा त पुराणकाल आएपछि राजालाई भगवान वा विष्णुका अवतार मानियो। अहिले पनि भाग्यले प्रधानमन्त्री बन्छ भन्ने भनाइ यथावतनै छ। अतः एउटा भाष्य बनाइयोः जबसम्म राजा सदाचारी र शक्तिशाली हुन्छ, उसलाई शासन गर्ने अधिकार हुन्छ। जब राजा कमजोर, विलासी वा अयोग्य आउँछ, तब प्रकृति वा जनताले उसलाई त्याग्छन् र विद्रोह वा बाह्य आक्रमणमार्फत पुरै व्यवस्था परिवर्तन हुन्छ। यस भाष्यमा एउटा गम्भीर त्रुटि थियो। व्यक्तिले राज्यलाई संस्थागत निरन्तरता दिँदैन। व्यवस्था बलियो बनाउनुको साटो अर्को नयाँ ‘योग्य व्यक्ति’ को प्रतीक्षा गर्छ। त्यसैले एउटा गीत छ नेपालमा ‘म एउटा मानिस खोजिरहेछु।’
ख) प्रणालीगत संस्थागत शून्यताको सिद्धान्त (Principle of Institutional Vacuum)
यस सिद्धान्तअनुसार, एसियाली साम्राज्यहरूमा ’शक्तिको पृथकीकरण’ (Separation of Powers) थिएन र अहिले पनि छैन। राजा नै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका हुन्थे। अहिले।पनि प्रधानमन्त्रीले सबैतिर हात हाल्छ। जहाँ नियम र संस्थाहरू बलिया हुँदैनन्, त्यहाँ राज्यको आयु शासकको आयु वा पदावधि एवम उस्को व्यक्तिगत योग्यतासँग जोडिएको हुन्छ।’
नतिजाः पृथ्वीनारायण शाह वा जंगबहादुर राणा वा महेन्द्र रहुन्जेल नेपाल बलियो देखियो, तर उनीहरू कमजोर हुनासाथ दरबारी षड्यन्त्रमा फस्ने, राजनीति हत्या हुने वा सत्ता विप्लव हुने घटना भए। कारण संस्थागत शून्यता व्यक्तिगत प्रभाव हो।
ग) सामरिक असन्तुलन र ’सफ्ट पावर’ को भ्रम (The Illusion of Soft Power)
सोङ वंश र कतिपय भारतीय राज्यहरूले सोचे कि उनीहरूको आर्थिक समृद्धि र सांस्कृतिक श्रेष्ठता (Soft Power) नै उनीहरूको सुरक्षाको ढाल हो। तर इतिहासले के देखांउछ भने ‘कठोर सैन्य सुरक्षा (Hard Power) र बलियो राजनीतिक चतुरता बिनाको आर्थिक समृद्धिले सधैँ क्रूर र शक्तिशाली आक्रमणकारीलाई वा घुसपैठियालाइ आकर्षित गर्छ।’
नतिजा धन र ज्ञान भएर पनि सैन्य रणनीति र राजनीतिक चतुरता नहुँदा ती राज्यहरू नामेट भए।
४. वर्तमानका लागि ऐना र निष्कर्षः आजको सन्दर्भमा यो इतिहास हाम्रो लागि सबैभन्दा ठुलो पाठ हो। आज पनि दक्षिण एसिया (नेपाल, भारत आदि) मा ‘संस्थाहरू’ (अदालत, संसद्, विश्वविद्यालय, प्रशासन) लाई बलियो बनाउनुको साटो अझै पनि ‘कुनै एउटा चामत्कारिक नेता आउला र देश बचाउला’ भन्ने व्यक्ति केन्द्रित मानसिकता छ। यदि हामीले यो अन्तर्निहित दोषलाई सुधार्ने हो भने निम्न कुरा सुनिश्चित गर्नुपर्छः
१. राज्य कुनै एउटा नेता कमजोर हुँदा ढल्ने खालको हुनुहुँदैन। राज्य प्रणाली (System) यति बलियो हुनुपर्छ कि नेतृत्व परिवर्तन हुंदा वा सामान्य व्यक्ति आउँदा पनि देश चलिरहोस्।
२. आर्थिक र सांस्कृतिक प्रगति (सोङ वंश र नालन्दा जस्तो) सँगसँगै सुरक्षा, सैन्य चतुरता र राजनीतिक कठोरता को सन्तुलन हुनैपर्छ।
इतिहासको यो चक्रलाई तोड्नका लागि अब हामीले ‘व्यक्ति पूजा’ छोडेर ‘संस्था निर्माण’ (Institution Building) को सिद्धान्तलाई अङ्गाल्नुपर्छ। तपाईँलाई के लाग्छ, नेपालमा नेता सुधार्न कोसिस गर्ने कि प्रणाली सुधार्न ? अहिले नेपालमा हुनुपर्ने बहस यो थियो। तर आम अचेतना भएका देशमा यस्तो बहस निर्माण गर्न निकै कठिन हुन्छ। यद्यपि आंतिनु हुन्न।
