सुदूरपश्चिम । ‘सातौँ एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड’ अन्तर्गत पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीकी मानमती विष्टलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा दुवै जनालाई यस वर्षको उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो ।
उनीहरूले ट्राफिसहित जनही रु ३५ हजार प्राप्त गरेका छन् । पुरुषतर्फ भारोत्तोलनका अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका हेमन्त धामी, महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबलकी मीना देउवा मनोनयनमा पर्नुभएको थियो ।
‘वर्ष प्रशिक्षक’मा कबड्डीका विष्णुदत्त भट्ट, ‘वर्ष युवा खेलाडी’मा एथलेटिक्सका विक्रम नाथ, ‘सुदूरपश्चिम आइकन’ पुरुषतर्फ भारोत्तोलनका भण्डारी र महिलातर्फ एथलेटिक्सका पूजा साउद परेका छन् । भट्टलाई रु ३० हजार, नाथलाई रु २५ हजार, भण्डारी र साउदलाई जनही रु २० हजारसहित पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए ।
यसैगरी क्रिकेटका शेर मल्ललाई ‘स्पेशल अवार्ड’ र सुरेश हमाललाई लाइफटाइम एचिभमेन्ट अवार्ड (मरणोपरान्त) अवार्डसहित जनही रु २० हजार पुरस्कार प्रदान गरिएको उनले बताए ।
अवार्डको मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेका छन् । कार्यक्रममा परिषद्का सदस्य सचिव लोकबहादुर खड्का, एसपीएका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीलगायतले सम्बोधन गरेका थिए ।
