ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा

ब्रसेल्स । ऊर्जाको मूल्यवृद्धि सुस्त भएसँगै जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर दुई दशमलव आठ प्रतिशत पुगेको छ। यसले युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले आगामी बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना बलियो बनाएको छ।

युरोस्ट्याटका अनुसार २१ सदस्यीय युरोजोनमा उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा जुनमा दुई दशमलव आठ प्रतिशतले बढेको छ। मे महिनामा यो दर तीन दशमलव दुई प्रतिशत थियो।

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने समझदारीपछि इन्धनको मूल्यमा आएको कमीले समग्र मुद्रास्फीति इसीबीको दुई प्रतिशतको लक्ष्यनजिक फर्किन सहयोग पुगेको विश्लेषण गरिएको छ।

जुनमा युरोजोनमा ऊर्जाको मूल्य आठ दशमलव सात प्रतिशतले बढेको छ, जबकि मे महिनामा यो वृद्धि १० दशमलव आठ प्रतिशत थियो। खाद्यवस्तु र सेवा क्षेत्रमा पनि मूल्यवृद्धि सुस्त बनेको छ। खाद्य मुद्रास्फीति एक दशमलव छ प्रतिशत र सेवा क्षेत्रको मुद्रास्फीति तीन दशमलव दुई प्रतिशतमा झरेको छ भने औद्योगिक वस्तुको मुद्रास्फीति शून्य दशमलव नौ प्रतिशतमै स्थिर रहेको छ।

यसअघि सार्वजनिक राष्ट्रिय तथ्याङ्कले युरोजोनका तीन प्रमुख अर्थतन्त्र फ्रान्स, जर्मनी र इटालीमा पनि मुद्रास्फीति घटेको देखाएका थिए। जुन महिनाको समग्र मुद्रास्फीति विश्लेषकले अनुमान गरेको तीन प्रतिशतभन्दा पनि कम रहेको जनाइएको छ।

ऊर्जा र खाद्यवस्तुको मूल्यलाई समावेश नगर्ने ‘कोर मुद्रास्फीति’ पनि मे महिनाको दुई दशमलव छ प्रतिशतबाट घटेर जुनमा दुई दशमलव चार प्रतिशत पुगेको छ।

यसअघि सन् २०२३ पछि पहिलोपटक गत महिना ब्याजदर बढाएको ईसीबीले आगामी जुलाई २३ मा हुने मौद्रिक नीति बैठकमा पुनः दर वृद्धि नगर्ने अपेक्षा विश्लेषकले गरेका छन्।

क्यापिटल इकोनोमिक्सका विश्लेषक ज्याक एलेन–रेनोल्ड्सले मुद्रास्फीतिमा आएको सुधारले थप ब्याजदर वृद्धि आवश्यक नदेखिएको उल्लेख गरेका छन्। अक्सफोर्ड इकोनोमिक्सका टोमस ड्वोरकले पनि मुद्रास्फीतिको प्रवृत्तिले थप दरवृद्धिको सम्भावना न्यून रहेको बताएका छन्।

इसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले गत साता युरोपेली सांसदसँगको छलफलमा घट्दो ऊर्जा मूल्य र मूल्यवृद्धिलाई थप चर्काउने दबाब कमजोर रहेकाले तत्काल थप कडा मौद्रिक नीति आवश्यक नरहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *