काठमाडौँ । सशस्त्र प्रहरीले आवश्यक कागजपत्रबिनै कबाडी सामान बोकेर उपत्यकाबाहिर लैजान लागिएका १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीका अनुसार मंगलबार साँझ प्राप्त गोप्य सूचनाका आधारमा ललितपुरको सानेपा क्षेत्रमा गरिएको निगरानी तथा जाँचका क्रममा ती ट्रक नियन्त्रणमा लिइएका हुन्। रिङरोड क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको दंगा नियन्त्रण रेजिमेन्टले ट्रकहरू नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा परेका ट्रकहरूमा प्र२–०३–००१ ख ४७३८, लु२ ख ५१०५, प्र२–०३–००१ ख ५६१९, ना५ ख ६६७१, ना८ ख ६२५३, ना७ ख ९९८, ना ६ ख ९४९७, ग२ ख ५३९ र ना६ ख ५६१ नम्बरका सवारीसाधन रहेका छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार नियन्त्रणमा लिइएका ट्रकहरूलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाउने प्रक्रिया भइरहेको छ। प्रहरीले ट्रकमा लोड गरिएको कबाडी सामानको स्रोत, आवश्यक कागजात र राजस्वसम्बन्धी पक्षबारे अनुसन्धान अघि बढाइएको जनाएको छ।
