काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर विष्टले सरकारले विश्वविद्यालय र विद्यालय अस्तव्यस्त बनाएको आरोप लगाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा देशलाई अस्तव्यस्त बनाउँदै लगेको आरोप लगाएका छन् ।
सोमबारको राष्ट्रियसभामा उनले ‘सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा गर्ने सरकारले आज विश्वविद्यालयमा उपकुलपतिका लागि प्रधानमन्त्री र शिक्षामन्त्री अलग–अलग मान्छेसँग बार्गेनिङ गरिरहेको आरोप लगाएका हुन् । उनले देश बन्नको लागि राजनीतिक कुटनीतिक संवाद आवश्यक रहेको बताए । उनले भने, ‘सुशासन र भ्रष्टाचारको कुरा गर्छ । आज विश्वविद्यालयका भीसीहरू अन्तर्वार्ता दिदैँ छन् । कसले कति बुझाउँछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्री अलग–अलग मान्छेसँग बार्गेनिङ गरिरहेका छन् । यही हो सुशासन ?’
उनले प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई ‘हिटलरको ग्यास च्याम्बर’ सँग तुलना गर्दै संवैधानिक अंगका प्रमुखहरू र मानव अधिकार आयोगका सदस्यहरूलाई बोलाएर धम्क्याउने काम भएको आरोप लगाए ।
उनले प्रधानमन्त्री बालेन साहलाई भेट्न गएका प्रधानसेनापति अशोकराज सिग्देलले घण्टौँ कुर्नुपर्ने अवस्था आएको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाए ।
उनले सरकारले एकातिर प्रदेश बोझ भयो भनेर प्रदेश खारेज गर्ने कुरा गर्ने र अर्कोतिर मन्त्रीलाई सल्लाहकार र स्वकीय सचिवको फौज थप्न लागेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘एकातिर प्रदेश सभालाई बोझ भनेर खारेजीको कुरा गरिन्छ, अर्कोतिर मन्त्रीका लागि ५७ जना स्वकीय सचिवहरूलाई विशिष्ट श्रेणीको सुविधा दिएर राज्यको ढुकुटी रित्याइँदै छ।’
उनले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै रास्वपाको दोहोरो चरित्र देखिएको बताए ।
