काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरबाट बलजफ्ती ननिकाल्न आग्रह गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत श्रेष्ठले पुनर्वासको व्यवस्था बिना नै सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने सूचना जारी गरिएको भन्दै त्यसो नगर्न सरकारलाई आग्रह गरेका हुन् । उनले सुकुम्बासीहरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रुपमा उचित बसोबासको व्यवस्था गर्न माग गरेका छन् ।
उनले भनेका छन्, ‘बालेन्द्र सरकारले नेपाली सेनासहितको सुरक्षाफौज प्रयोग गरी बलप्रयोगद्वारा अमानवीय ढंगले सुकुम्बासीहरुलाई विस्थापन गरी पुनर्वासको उचित व्यवस्थापन नभएसम्मको लागि भन्दै विभिन्न होल्डिङ सेन्टरहरुमा राखेको थियो । तर अहिले पुनर्वासको व्यवस्था बिना नैं सुकुम्बासीहरुलाई ती होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने सूचना, धम्की र चेतावनी दिइएको छ, जुन नितान्त गलत र गैरजिम्मेवार छ । सुकुम्बासीहरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रुपमा उचित बसोबासको व्यवस्था गरियोस् र त्यस्तो व्यवस्था नभएसम्मको लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् । अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ ।’
