कार्यकर्ताको मन कुँड्याउने रास्वपाको महाधिवेशन

काठमाडौँ । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रममा शुभकामना दिन गएका नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा उपयोग गर्न सुझाव दिए । उनले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गर्दै ‘एक्सिलेटर मात्र होइन, ब्रेक पनि आवश्यक हुन्छ’ भन्ने सम्झाए । ज्ञवालीले भनेका थिए, ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक प्रयोग गरिएन भने दुर्घटना हुन सक्छ। रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गरोस्।’ ज्ञवालीले रास्वपाले हासिल गरेको उपलब्धिलाई सकारात्मक रूपमा लिनुपर्ने भएपनि त्यसलाई संगठनात्मक मजबुती र जिम्मेवार राजनीतिक अभ्याससँग जोड्नुपर्नेमा जोड दिएका थिए । ज्ञवालीले यस्तो बोलिरहँदा रास्वपाका कार्यकर्ताले होहल्ला गरेका थिए ।

ज्ञवालीले सम्बोधन गरिरहँदा छेउमै बसेका प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन साहले सुनिरहेका थिए । आफ्नो बोल्ने पालो आएपछि प्रधानमन्त्री साहले सुरुमै ज्ञवालीको सम्बोधनको विषय उठान गरे । उनले सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताए । प्रधानमन्त्रीले लोकल गाडीमा मात्रै ब्रेकको खाँचो पर्ने बताए । प्रधानमन्त्रीले भने, ‘सरकार भनेको गाडी जस्तो हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नु भएको छ । त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हुन्छ । हाम्रो गाडी लोकल रोडहरूमा हिँडेको गाडी होइन । एक्प्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’ बालेन यस्तो बोलिरहँदा रास्वपाका नेता कार्यकर्ता हुटिङ गरिरहेका थिए ।

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्मलाई तोकिएको थियो । रास्वपाले स्मार्ट महाधिवेशन गर्ने भन्दै पहिलेदेखि नै हल्लाखल्ला गरेको थियो । तर व्यहारमा भने उल्टो भयो । ९ गतेसम्म त रास्वपाले महाधिवेशन प्रतिनिधिसम्मको टुंगो लगाउन सकेन । असार १० गते राति प्रतिनिधिको नाम टुंग्याएर मध्यरातमा मतदान भयो । उद्घाटन सत्रमा जति उत्साह थियो, महाधिवेशन लम्बिँदै जाँदा प्रतिनिधिहरुमा आक्रोश र निराशा दुबै देखिन्थ्यो । यतिसम्म भयो कि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रतिनिधिको नाम समेत हटाइयो । महाधिवेशन लम्ब्याएर आफूहरुलाई गर्मीमा सेकुवा बनाएको भन्दै प्रतिनिधिहरु आक्रोशित देखिन्थे ।

प्रतिनिधि यति आक्रोश थिए कि आफूले जिताएर पठाएका सांसदलाई पार्टी कार्यालयमा आउँदा खुट्टा भाँचिदिने चेतावनी पनि दिए । स्याङ्जाका एक जना प्रतिनिधिले क्षेत्र नम्बर २ का सांसद पार्टी कार्यालयमा आए खुट्टा भाँचिदिने चेतावनी दिए ।

भिडियोः डाँफे मिडिया

अरु दलले त रास्वपालाई महाधिवेशन त गर, अनि थाहा पाउँछौँ भन्दै चुुनौती दिएका थिए । झण्डै दुई तिहाईको मत सहित देश बनाउने भन्दै आएको दललाई यस्तो चुनौती दिन मुर्खता भन्दै रास्वपाका नेता कार्यकर्ता भनिरहेका थिए । तर महाधिवेशनको बेथिति देखेर रास्वपाका सांसद धनञ्जय रेग्मीले रास्वपाले देश चलाउन नसक्ने देखिएको टिप्पणी गरे । तीन दिनमा सक्ने भनिएको महाधिवेशन लम्बिएर ५ दिन पुगिसकेको उल्लेख गर्दै भने, ‘यति बेथिति गरियो भने हामीले देश चलाउन सक्दैनौं है साथीहरू हो। मैले जुन हिसाबले हाम्रो पार्टी भनिराखेको थिएँ, जुन पदाधिकारी छन् तिनले अन्तर्राष्ट्रिय जगतमा रास्वपाको बेइज्जत गराएका छन्, मैले यत्ति नै भनेँ। यति भनेपछि म त सिद्धिएँ, मलाई मत दिँदैनन् म हारिहाल्छु ।’

यो निराशा यतिमा मात्र सीमित छैन । केन्द्रीय सदस्यका उम्मेदवार दिएकी ज्वाला संग्रौला मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै आक्रोशित थिइन् । अर्का सांसद राजीव खत्रीले सामाजिक संजालमा लेखे, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी ।’

खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गणेश कार्कीले प्रारम्भिक सूची भन्दा तल नाम पारिएको भन्दै प्रश्न उठाए । उनले सामाजिक संजालमै लेखे, ‘खुलातर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ? प्रश्न छन् ।’

लुम्बिनी प्रदेशका भूगोलतर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार भरतप्रसाद पनेरुको मतपरिणाम नै सार्वजनिक गरिएन । मत सार्वजनिक नभएपछि उनले डाटावेस, डिजिटल पार्टी भनेर अहंकार गरेकोमा आफू लज्जित भएको भन्दै क्षमा मागे । यी त केही प्रतिनिधि पात्रका मात्र कुरा हुन् । बेथिति र भद्रगोलकै कारण १३ सय प्रतिनिधि मतदानमा भाग नलिई फर्किएका छन् ।
उद्घाटन सत्रमा एमाले नेताले सम्झाएका थिए । तर बालेनले भनेका थिए, ‘हाम्रो गाडी लोकल रोडहरूमा हिँडेको गाडी होइन । एक्प्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’

तर रास्वपाका महाधिवेशन प्रतिनिधिले बालेनको भनाइलाई खारेज गरेका छन् । उनीहरुले यस्तो तालले ‘हामीले देश चलाउन सक्दैनौं है’ भनिसकेपछि तपाईँहरुलाई चाहिँ के लाग्छ, बालेनले भनेजस्तो रास्वपाले देश चलाउँछ त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *