कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी योगेन्द्र तिमिल्सिनाकाअनुसार गम्भीर घाइते भएका विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा आज मध्यान्ह मृत्यु भएको हो । विस्फोटका क्रममा विष्टको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।
सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। जोशीको अवस्था सामान्य रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको डीएसपी तिमिल्सिनाले बताए ।
बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको टोली अभ्यासमा संलग्न रहँदा उक्त दुर्घटना भएको जनाइएको छ।
