काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीमा निवर्तमान सहमहामन्त्री विपिनकुमार आचार्यले पूर्वानिर्धारित समयमा पार्टीको महाधिवेशन पूरा गर्न नसकेको भन्दै महाधिवेशन प्रतिनिधिहरुसँग माफी मागेका छन् ।
असारको महत्वपूर्ण समयमा सबै प्रतिनिधिहरुलाई रोक्नुपरेकोमा आफूहरुलाई लज्जित बनाएको भन्दै गल्ती स्वीकार गर्दै उनले माफी मागेका हुन् । उनले मानो रोपेर मुरी फलाउने यो समयमा तपाईँ सबैले मेहनतले कमाएको पैसाको दुरुपयोग हुँदा आफूहरु लज्जित भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सामान्य अवस्थामा मैले यो भिडियो अपलोड गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र निर्वाचित पदाधिकारी चयन गरेर यो पहिलो ऐतिहासिक महाधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिहरू आफ्नो घर गइसक्नुपर्ने थियो। तर हाम्रो कारणले तपाईँहरू अहिलेसम्म पनि चितवनमै हुनुहुन्छ। नेतृत्वका रूपमा हामीले हजुरहरूलाई यति धेरै दुःख दिँदादिँदै पनि तपाईंहरुले देखाउनुभएको सहनशीलताप्रति नमन गर्दछौँ। मानो रोपेर मुरी फलाउने यो समयमा तपाईँ सबैले मेहनतले कमाएको पैसाको दुरुपयोग हुँदा हामी लज्जित छौं। तपाईँहरू सबैसँग यसका लागि माफी माग्दछौँ। माफी माग्दै अबको केही घण्टामा सुरु हुने मतदान प्रक्रियामा सहभागी हुनका लागि अपील पनि गर्दछौँ।’
उनले महाधिवेशन प्रतिनिधिलाई केही घण्टा कुरेर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यति धेरै समय कुर्नुभएको छ केही घण्टा कुरेर राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व छान्ने प्रक्रियामा आफ्नो अमूल्य मत दिनका लागि चितवन नछोडिदिनुहोला। हामी हाम्रा गल्तीहरूबाट भविष्यमा पाठ सिक्नेछौ। धैर्यताका लागि फेरि पनि नमन। तपाईँहरू सबैजनाको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको माया गज्जब छ।’
महाधिवेनमा ढिलाई भएपछि महाधिवेशन प्रतिनिधिले चितवन छाड्ने चेतावनी दिएपछि आचार्यको यस्तो भनाई आएको हो । असार ७ देखि ९ सम्म महाधिवेशन भनिएपनि बुधबार रातिसम्म निर्वाचन प्रक्रिया सुरु नहुदा महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका छन् ।
