‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति

मस्कट । इरान र ओमानले ‘ स्ट्रेट अफ हर्मुज’को भावी व्यवस्थापन तथा त्यहाँ प्रदान गरिने सेवाका लागि लाग्ने शुल्कबारे अध्ययन गर्ने सहमति गरेका छन्।

दुवै देशले मङ्गलबार जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त महत्वपूर्ण जलमार्गमाथिको आफ्नो सार्वभौम अधिकारमा जोड दिएका छन् ।

संयुक्त विज्ञप्तिअनुसार दुवै देशले ‘स्ट्रेट अफ हर्मुज’स्थित आफ्नो क्षेत्रीय जलक्षेत्रमाथिको सार्वभौमसत्ता तथा सार्वभौम अधिकार पुनः पुष्टि गरेका छन् । साथै ‘स्ट्रेट अफ हर्मुज’मा हुने जलयातायातको भावी व्यवस्थापन, उपलब्ध गराइने सेवा तथा त्यससँग सम्बन्धित शुल्कका विषयमा सहमति जुटाउन दुवै देशका विदेश मन्त्रालयबीच संयुक्त कार्यदल गठन गरी संवादलाई निरन्तरता दिने सहमति भएको छ ।

विज्ञप्तिमा हर्मुजमा प्रदान गरिने सेवा तथा त्यससँग सम्बन्धित शुल्क अन्तरराष्ट्रिय मापदण्डअनुसार निर्धारण गरिने उल्लेख गरिएको छ ।

मुस्कटमा भएको उच्चस्तरीय भेटवार्तापछि उक्त विज्ञप्ति जारी गरिएको हो । भेटका क्रममा इरानका विदेशमन्त्री अब्बास अराघची र प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले ओमानका सुल्तान हैथम बिन तारिकसँग पनि भेटवार्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *