काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताएका छन् । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताएका हुन् ।
चितवनको भरतपुरमा जारी महाधिवेशनका कार्यक्रम तालिकाभन्दा ढिलो अघि बढेपछि प्रवक्ता झाले बन्दसत्र सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै व्यवस्थापनका कारण महाधिवेशन एक दिन थपिन सक्ने संकेत गरेका छन्।
प्रवक्ता झाले भने, ‘प्रतिनिधि संख्या अपेक्षाभन्दा बढी भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। करिब पाँच सयभन्दा बढी प्रतिनिधि थपिएपछि नामावली अद्यावधिक, दाबी–विरोध प्रक्रिया र सामग्री व्यवस्थापनमा समय लागेको हो।’
उनले संगठन निर्माण सबै प्रदेशमा समान रूपमा नपुगेको कारण पनि समस्या देखिएको बताए। विशेषगरी केही प्रदेशमा संगठन विस्तार ढिलो भएकाले प्रतिनिधि सूचीमा छुट भएको उनले स्वीकार गरे।
उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले लामो समय, खर्च र मेहनत गरेर आएको भन्दै उनीहरूको असन्तुष्टि स्वाभाविक भएको टिप्पणी गरे। साथै, व्यवस्थापनको कारण कार्यक्रम केही लम्बिन सक्ने अवस्था रहेको पनि उनले स्पष्ट पारे।
