चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
उनले पुरानै राजनीतिक अभ्यास, आन्तरिक खिचातानी र शक्ति प्राप्त गर्ने दौडले पार्टीलाई सफलतामा नपुर्याउने बताए ।
उनले फरक परिणाम चाहिएको भए सोच र कार्यशैलीमै परिवर्तन आवश्यक रहेको बताए ।
उनले भने, ‘म तपाईहरुलाई सम्मान गर्न चाहन्छु । जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । लक्ष्य प्राप्त गर्ने तरिका पनि एकै हुनुपर्छ । राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झनझन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ फरक हुँदैन । हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवास्वप्न देखेको छ भने त्यो असफलता तर्फ जान्छ।’
सभपति लामिछानेले फरक परिणाम निकाल्न राष्ट्रका लागि प्रतिबद्ध हुनुपर्ने बताए । उनले भने, ‘फरक परिणाम निकाल्ने हो भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ। जहाँबाट जसरी आएको भए तापनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ।’
