झापा । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सदस्यता अद्यावधिक नगर्ने नेता कार्यकर्तालाई पार्टीले नचिन्ने बताएका छन् । मंगलबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सदस्यता अद्यावधिक नगर्ने नेतालाई सिस्टमले नचिन्ने बताएका हुन् ।
उनले आफूले सबै नेतालाई सम्मान गर्ने, तर सदस्यता अद्यावधिकमा आफूले केही गर्न नसक्ने बताए । उनले भने, ‘अद्यावधिक नभएको कोही पनि सदस्यलाई नेपाली कांग्रेस पार्टीले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यको रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन। मलाई क्षमा पनि गर्नुहोला ।’
सभापति थापाले आफूहरु बीपी कोइरालाले बनाएको पार्टीलाई बनाउन आएकाले अप्ठ्यारा प्रस्ताव नल्याउन असन्तुष्ट नेताहरुलाई आग्रह गरे । उनले भने, ‘बीपी कोइरालाले बनाएको पार्टीलाई ८–१० वर्षमा छियाछिया पारियो । यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछ भने मानिँदैन । नमानेरै अघि बढ्ने हो ।’
उनले पार्टीमा युवाहरू नेतृत्वमा आउँदा आफूलाई खुसी लाग्ने गरेको बताए । उनले पुराना नेताले धेरै अवसर पाएकाले नयाँ पुस्तालाई हैसला दिनुपर्ने बताए ।
उनले भने, ‘नयाँ पुस्ताका कांग्रेस चलाउन सक्ने एकसेएक साथीहरू आएका छन्, यिनीहरूलाई देखेर खुसी पो लाग्छ। अब यिनले सम्हाल्छन् कांग्रेस भनेर भन्नुपरो नि । झ्याम्म कुर्सी समातेर अड्काएर बसेर छ त्यसपछि गएर हल्लिन पनि पाउँदैन, उठ्न पनि पाउँदैन, दायाँ पनि गर्न पाउँदैन यसरी चल्दैन।’
सभापति थापाले विशेष महाधिवेशन नभएको भए कांग्रेसलाई धेरै भोट आउँथ्यो भन्नेलाई एमालेको हालत हेर्न सुझाव दिए । उनले भने, ‘हामी अझै पनि भनिरहेका छौं, कांग्रेसमा कुरा मिलेको भए ह्वारह्वारती भोट आउँथ्यो । एमालेमा नमिलेको के थियो, सबैले बा’बा भनिरहेका थिए, उनलाई आउनु पर्ने । माओवादीले त पार्टी कति मिलाएको गन्नै बिर्सेको रे, उसलाई आउनु पर्ने । खै त आएको ?’
