प्रज्जवल थापा । वेष्ट इन्डिजका कप्तान तथा पावर हिटिङ अलराउण्डर काइरन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । बिहिबार बिहान श्रीलंकाविरुद्व भएको पहिलो टि-२० खेलमा पोलार्डले अकिला धनन्जयको दोस्रो ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
यसअघि सन् २००७ मा भारतका युवराज सिंहले इंग्ल्याण्डविरुद्व भएको टि-२० खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । घरेलु मैदानमा भएको खेलमा धनन्जयले आफ्नो पहिलो ओभरमा इभान लुइस, क्रिस गेल र निकालोस पोरानलाई आउट गर्दै ह्याट्रिक लिएका थिए । तर उनले पोलार्डलाई भने रोक्न सकेनन् । उक्त खेल वेष्ट इन्डिजले ४ विकेटले जितेको हो । १३२ रनको विजयी लक्ष्य पछ्याएको इन्डिजले पोलार्डको विष्पोटक ब्याटिङको मद्दतमा १३.१ ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनाउदै लक्ष्य भेट्टाएको हो । इन्डिजलाई जित दिलाउन पोइलार्डले ११ बलमा ६ छक्काको मद्द्तमा ३८ रन जोडे ।
यस्तै लेन्ड सिमोन्सले २६, इभान लुइसले २८ र जासोन होल्डरले २९ रनको योगदान गरे । श्रीलंकाको लागि अकिला धनन्जयले ४ ओभरमा ६२ रन खर्चिदै ह्याट्रिक लिए । यस्तै वानिन्दु हासाराङ्गाले ४ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३१ रन जोडेको थियो । श्रीलङ्काको लागि डिकवेल्लाले ३३ रन जोड्दा पाथुमा निस्सन्काले सार्वधिक ३९ रन जोडे ।
इन्डिजको लागि ओबेड मेकक्वेले दुई विकेट लिँदा केभिन सिनक्लाएर, एडवार्ड्स, होल्डर, डिजे ब्राभो र फाबियन एलिनले एक/एक विकेट लिए ।