बीबीसी । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले डाउनिङ स्ट्रीटबाहिरबाट बोल्दै पदत्याग गर्ने घोषणा गरेका हुन् ।
उनले पदमा हुँदा आफूले गरेका सबै निर्णय ‘आफूले माया गर्ने देशलाई अगाडि राखेर’ गरेको बताए । गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने ठानिएको छ। तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसम्म कुर्नुपर्ने ठानिएको छ। त्यति बेला लेबर पार्टीको अधिवेशन आयोजना हुन लागेको छ ।
दुई वर्षअघि पार्टीभित्र भएको निर्वाचनबाट स्टार्मर प्रधानमन्त्री पदका लागि चुनिएका थिए । राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू नेतृत्वमा आउँदा लेबर पार्टी ‘राजनीतिक,आर्थिक र नैतिक रूपमा टाट पल्टिएको’ अवस्थामा भएको बताए ।
स्टार्मरले आफूलाई ‘पटकपटक’ पार्टी ‘सकियो’ भनिएको तर आफूले ‘ती मानिसहरूलाई गलत साबित गरिदिएको’ बताए । उनले ‘यहुदीविरोधी भावनाको विषलाई जरैदेखि उखेलेर’ पार्टीलाई परिवर्तन गरेको दाबी गरे ।
सोमबार एन्डी बर्नम सांसद पदमा बहाल हुन वेस्टमिन्स्टर जाने छन् । स्टार्मरले आफ्नो राजीनामा दिने निर्णयबारे सोमवार बिहान राजालाई जानकारी दिइसकेको बताए । स्टार्मरले राजा चाल्र्ससँग फोनमा कुरा गरेको बुझिएको छ ।
स्टार्मरले लेबर पार्टीको राष्ट्रिय कार्यकारी समितिलाई ९ जुलाईदेखि नेतृत्वका लागि मनोनयन खुला गरी ग्रीष्मकालीन बिदासम्ममा सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेका छन् । यसको अर्थ सेप्टेम्बरमा संसद् सुरु हुनुअघि नै नयाँ नेता चयन भइसक्ने छन् । त्यतिन्जेलसम्म आफू प्रधानमन्त्री पदमै बहाल रहने उनले बताए।
