-नारायण पौडेल ।
खासमा गगनले ठीक गरे । चुनावपछि सुनिन छाडेका गगनले धेरैले सुन्न चाहेको मञ्चको उपयोग गर्ने भए । चुनावपछि गगनको सबभन्दा चर्चा र प्रसंशा रास्वपाको महाधिवेशनमा गएका कारण भएको छ । उनले रास्वपाको महाधिबेशनमा पुगेर रविसँग अपार दोस्ती र प्यारबारे बोले भनेपनि अन्यथा हुँदैन । रविलाई प्रिय भनेर सम्बोधन गरिसके । राजनीति भनेकै जे आउँछ मज्जाले पचाउँछ हो ।
सायद, गगनले ‘प्रमाण’ भन्दै संसदमा नगर्जिएको भए ओली सुरिने थिएनन् । देउवालाई बालै हुन्थेन । रविलाई प्रहरीको भ्यानमा राखेर चारै दिशा न रिंगाएको भए आम असन्तुष्टि यो तहमा संस्थागत हुन्थेन । अझ चुनावको मुखैमा गगनले कांग्रेसभित्र सर्जिकल स्ट्राइक नगरेको भए प्रतिपक्षी कित्तामा नेतृत्वको यस्तो खडेरी पर्ने थिएन । कांग्रेस गगनको नेतृत्वमा चुनावमा गएको भए बेग्लै हुन्थ्यो भनेर मन बुझाउने र चुक्चुकाउने जमात ठूलै हुन्थ्यो । त्यही चुक्चुकाउने अवसरपनि गगनको अन्तिम घडीको अतिरिक्त सक्रियताका कारण गुम्यो ।
गगनको गगनभेदी आवाजसँगै हुर्किएको हाम्रो पुस्ता उनको पदीय उचाई बढ्ने तर ओझ भने घट्ने असंगतिपूर्ण अवस्था देख्न इच्छुक होइनौं । हामी नेपालको कोही मान्छे मन्त्री बन्न गए झुण्डाएर मार्दिनु भन्ने वाचा र पार्टी विभाजित हुने स्थिति आए विशेष महाधिवेशनको हलबाट हामी नै शुरुमा बाहिरन्छौं भन्ने प्रतिज्ञाको स्तर उस्तै सुनिनु दुःखद हो । रास्वपाको महाधिवेशनस्थल गगनको कमब्याक थलो बनोस् ।
