काठमाडौँ । सरकारको नेतृत्व गर्ने राजनीतिक दलले नागरिकका कुरा सुन्ने र उनीहरु माग सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । त्यसैले सरकारको नेतृत्वकर्ताले जनतासँग नजिकको सम्बन्ध राख्न सक्नुपर्छ । विगतमा दुई, तीन, चार, पाँच दल मिलेर संयुक्त सरकार बन्ने गरेका थिए । र उनीहरु जनतालाई एकले अर्कालाई काम गर्न नदिएको भन्दै पन्छिने गरेका थिए । तर फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) झण्डै दुई तिहाइ मतका साथ संसदमा आएको छ । बालेन साहको नेतृत्वमा सरकार गठन भएको छ । बालेन सरकारलाई त अझ जेनजीको सरकार भन्ने गरिएको छ । जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट बनेको सरकारले नागरिकका कुरा सुन्ने र नागरिकलाई आफ्ना कुरा भन्ने गर्नुको साटो गठन भएको तीन महिना नपुग्दै सरकारको आलोचना सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँडेको घटना होस् वा सदनको रोष्ट्रममा उभिएर ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार र त्यसमा पनि रास्वपा आलोचित बनेको हो । प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने र सदनको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलले केही दिन सदन अवरुद्ध पनि गरे । तर बजेट पारित गर्नुपर्ने भन्दै उनीहरुले सदन चल्न दिएपनि आफ्नो मागबाट पछि हटेका भने छैनन् । प्रधानमन्त्री सदनमा आउनुपर्ने भन्दै विपक्षी दलले माग गर्दै आएकोमा एकदिन छापामार शैलीमा बैठकमा आएका प्रधानमन्त्री खुबै जान्ने हुँदा विवादमा परेका थिए । विगतमा प्रधानमन्त्रीसँग महिनामा एक पटक प्रश्नोत्तर हुने गरेको थियो । त्यसका लागि सांसदहरुबाट तीन दिनअघि नै प्रश्न लिएर प्रधानमन्त्रीले सदनमा जवाफ दिने गरेका थिए । तर प्रधानमन्त्री बालेन भने छापामार शैलीमा आएर सीमा विवादको प्रश्नको जवाफ दिनेक्रममा ढंग नपुग्दा विवादमा तानिए ।
विपक्षीले यस विषयमा जवाफ मागेपनि प्रधानन्त्री सदनलाई बाल नदिई बसेका छन् । बरु सामाजिक संजालमा अनेक लेख्ने तर जनताको प्रतिनिधिको थलो संसदलाई भने छल्दै आएका छन् । केही दिनअघि उनले गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई छेउमा राखेर देश बनाउने टोली भन्दै तस्बिर राखे । १७ सदस्यीय मन्त्रिपरिषदमा किन तीन जनामात्रै देश बनाउने भन्दै यतिबेला अनेक आशंका र प्रश्न उनीमाथि गर्न थालिएको छ । सायद रास्वपाका सभापति रवि लामिछाने पनि प्रधानमन्त्रीको व्यवहारदेखि अवाक भएका होलान् । तर बालेन प्रधानमन्त्री हुन् । पार्टीमा उनलाई कसले छुन सक्ने । उनको मनमौजी चलेको छ ।
एकजना सचिवले राजदूतका लागि फारम भरम भनेर म्यासेज गरेकोमा प्रधानमन्त्रीले उनलाई पक्राउ गर्न लगाउँछन् । तर भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका ५३ उद्योग असार १ गतेदेखि बन्द भएका छन् । यो समस्या समाधानका लागि प्रधानमन्त्री चुइँक्क बोल्दैनन् ।
प्रधानमन्त्री मात्र होइन अर्थमन्त्रीको पारा पनि उस्तै छ । विशेषगरी करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउने विपक्षी सांसदहरूको चेतनामाथि नै उनले चेतावनी दिएका छन् । उनले भने, ‘अहिलेको बहुचर्चित विषय–स्वर्णिम वाग्लेले कुटु–कुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने खालका कुरा पनि सुनिए । सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्छ । हामी यस सम्मानित सदनको ओज घटाउने कामतर्फ लाग्नु हुँदैन । मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक–दुईवटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे । तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु । यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ । तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन् ।’
बालेनको मात्र होइन, बालेनकै टीमका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पनि मनमौजी चलेकै छ । गत आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण गर्न गएका मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न’ निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धर्तीमा कहाँ छ ? खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’
हुन त फागुन २१ को चुनावअघि बालेन साहले काम नगर्ने ठेकेदारलाई रुखमा बाँध्ने र खोरमा जाक्ने बताएका थिए । त्यसैले होला मन्त्री लम्सालले यसो भनेका ।
रास्वपाका अर्का मनमौजी हुन् महामन्त्री कविन्द्र बुर्लाकोटी । उनले विश्वविद्यालयको उपकुलपति छनोट पार्टीको झण्डा बोकेर हिंडेको मान्छेका लागि एक नम्बर थपिने बताए ।
धेरै आलोचना भएपछि अहिले त्यसलाई सच्याउन थालेका छन् ।
रवि लामिछानेले पार्टी र बालेन साहले सरकार चलाउने उनीहरुबीच भागवण्डा लागेको छ । प्रधानमन्त्री, मन्त्रीले कुनै विषयमा विवादित अभिव्यक्ति दिए पार्टीमा छलफल गर्ने, स्पष्टीकरण सोध्नेसमेत हुने गरेका कयौँ उदाहरण छन् । तर रास्वपामा प्रधानमन्त्री वा मन्त्रीका विवादिन अभिव्यक्तिमा त्यसो गर्ने आँट सभापतिमा छैन । बरु प्रधानमन्त्रीको अभिव्यक्तिमा सभापति लामिछानेदेखि मन्त्री र नेताहरुको पंक्ति नै रफ्फू भर्न लागिरहेको छ । नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ । सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा विवाद छ । यी लगायतका स्थानमा भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । नेपालले यसो भनिरहँदा भारतले अहिलेसम्म नेपालले भारतको भूमि मिचेको भनेको छैन । तर संसारमा कसैले भन्ला छिमेकीले समेत नभनेको कुरा हाम्रा प्रधानमन्त्रीले भनिदिए, ‘नेपालले भारतको भूमि मिचेको छ’ ।
अनि सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन नै नपढी केही घण्टामा उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गरियो । प्रतिवेदन अहिले पनि सार्वजनिक गरिएको छैन । तर प्रधानन्त्रीको अभिव्यक्ति, पूर्वाधारमन्त्री लम्सालको अभिव्यक्ति र सुदन गुरुङको गृहमन्त्रीमा पुनः नियुक्तिको विषयमा यतिबेला रास्वपाका अधिकांश नेता बोल्न सकिरहेका छैनन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा यी विषयमा रास्वपाकी सांसद रञ्जु दर्शना नाजवाफ भएकी छन् ।
सायद रास्वपाका अरु धेरै नेता रञ्जु दर्शनाकै हालतमा छन् होला । तै पनि रास्वपाका केही नेताहरु रफ्फू भर्दै भन्दैछन्–ढुक्क हुनुस्, देश बन्छ । अनि तपाईँलाई चाहिँ प्रधानमन्त्री, मन्त्रीहरुका यही पाराले देश बन्छ जस्तो लाग्छ ?
