कर्णाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि मंगलबार सुर्खेत आइपुगेका मन्त्री पोखरेलले निकट भविष्यमा कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र रङ्गशाला निर्माणबारे स्थलगत निरीक्षण तथा अवलोकन गरेका हुन् । उनले प्रतियोगताका लागि आउटडोर र इन्डोरमा हुने सबै खेलका भौतिक संरचना, निर्माणको कार्यमा भएको प्रगतिको कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव रवीन्द्र चन्दसँग जानकारी लिए ।
मन्त्री पोखरेलले भने, ‘सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ८० करोड बजेट छुट्याएको छ । अब निर्धारित समयमा प्रतियोगिता सम्पन्न हुन्छ ।’
फुटबल मैदान, भलिबल, ब्यामिन्टन कोर्ट, क्रिकेट तालिम हल, मार्सल आट्र्स, स्विमिङलगायत निर्मित र निर्माणाधीन संरचनाहरूको निरीक्षण गर्दै उनले कर्णाली परिषद् सदस्यसचिव चन्दलाई बाँकी रहेको निर्माण कार्य सम्पन्न गरी प्रतियोगिताको तयारीमा लाग्न सुझाए ।
सदस्यसचिव चन्दले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले नौ करोड विनियोजन गरिएको बताउँदै वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला सम्पन्न गर्न थप नौ करोड तथा अन्य जिल्लाका खेलमैदान तथा कभर्डहल निर्माणका लागि १० करोड बजेट विनियोजन गरेको जानकारी दिए । उनले प्रतियोगिता सम्पन्न गर्ने गरी रङ्गशालाको बाँकी काम पूरा गर्न तीव्र रूपमा लाग्ने बताए ।
