-ऐन महर
प्रधानमन्त्री बालेन साहले आफ्नो फेसबूक पेजबाट आफ्ना गृहमन्त्री सुदन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको अँगालोमारेको तस्बिर सार्बजनिक गर्नु भयो र त्यसको क्याप्सनमा लेख्नु भयोः
PM,HM, IM
desh banaune Toli
हुन त यो उहाँको व्यक्तिगत पेज होला तर प्रधानमन्त्री जस्तो गरिमामय पदमा बहाल व्यक्तिको व्यक्तिगत भन्ने नै हुँदैन । त्यसैले यहाँ केही प्रश्नहरु सिर्जना भएका छन् । यसको जवाफ प्रधानमन्त्रीज्यूले दिनु नै हुनेछ । नभए कुनै मन्त्री या रास्वपाका सभापति वा पदाधिकारीले भए पनि दिनुहुने छ भन्ने विश्वास लिएको छु ।
१) देश बनाउने टिम भनेर आफ्नो गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीको तस्बिर मात्र अपलोड गर्दा उहाँको मन्त्रिपरिषदका बाँकी मन्त्रीहरु चाहिँ के तलब भत्ता मात्र खाने व्यक्ति हुन् र ?
२) कि मन्त्रिपरिषदका बाँकी सदस्यले देश बनाउने कुरामा प्रधानमन्त्रीज्यूको विश्वास टुटेको हो र ? अहिले त्यो तस्बिर आफ्नो प्रधानमन्त्रीको फेसबुक वालमा हेर्दै गर्दा मन्त्रिपरिषदका अरु सदस्यहरुले कस्तो महसुस गरिरहेका होलान् ? राति निन्द्रा चाहिँ लाग्छ होला त ?
३) संसदमा जनताको प्रतिनिधित्व गरिरहेका बाँकी १७९ जना माननीय सांसदहरु चाहिं के संसदमा तलब भत्ता खान र प्रधानमन्त्रीले संसदको रोष्टमबाट देशद्रोही अभिव्यक्ति ‘नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको रहेछ’ भनेर व्यक्त गरिरहँदा आँखामा कालोपट्टी बाँधेर गडगडाहट ताली बजाउन मात्रै उपस्थित भएका हुन् त ?
४) रास्वपाका बाँकी १७९ सांसदहरु चाहिँ देश बनाउनका लागि योग्यता र क्षमता नभएर प्रधानमन्त्रीको टिममा नपरेका हुन् ? वा प्रधानमन्त्रीले ३ जना बाहेकलाई नरुचाएका हुन् वा अरु कसैको आवश्यकता महसुस नगरेका हुन् ?
५) लोकतन्त्रमा राजनीतिक दलहरुको देश बनाउने काममा सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ तर प्रधानमन्त्रीको दृष्टिमा रास्वपा, रास्वपाको सभापति र रास्वपाका अन्य नेता कार्यकर्ताको कुनै काम छैन वा आवश्यकता छैन वा देश बनाउन योग्य छैनन् वा आफूलाई तीनजना भन्दा अरु कोही पनि मन पर्दैन र विश्वास पनि छैन, के भन्न खोजेको हो ?
लोकतन्त्र भनेको सामूहिकतामा विश्वास गर्ने प्रणाली हो । एउटा लोकतान्त्रिक व्यक्तिले जति सकिन्छ आफ्नो दायरा फराकिलो बनाउने र सामूहिक प्रणालीलाई स्थापित गर्ने हो । तर जब मान्छे जति साँघुरो घेरामा आफूलाई सीमित गर्दै जान्छ त्यति नै निरंकुश र तानाशाही बन्दै जान्छ । त्यसैले अहिले प्रधानमन्त्री बालेन साह शक्तिको अत्याधिक केन्द्रिकरण गर्दै आफ्नो घेरा अत्याधिक साँघुरो बनाउँदै निरंकुश र तानाशाही बाटोमा लम्किरहेका छन् । रास्वपा यदि साँच्चिकै लोकतान्त्रिक पार्टीका रुपमा आफूलाई स्थापित गर्ने हो भने बालेन साहको प्रधानमन्त्रीका रुपमा निरंकुश र तानाशाही प्रवृत्तिलाई अविलम्ब सच्याउनु जरुरी छ ।
