नेपाल बनाउने अभियानमा चीनमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको निम्तो

बेइजिङ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको समृद्धिका लागि प्रवासमा रहेका नेपालीको ज्ञान सीप आवश्यक भएको बताएका छन् ।

आइतबार चीनको बेइजिङस्थित नेपाली दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रियामा मन्त्री खनालले यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेको युवा जनसंख्याको आधारमा नेपाल विकास गर्ने सुनौलो समय छ तर त्यसलाई कसरी अवसर छोप्ने र उपयोग गर्ने भन्ने चुनौती छ । चीनमा बसेर यहाँहरूले हासिल गरेको सीप र क्षमतालाई देशले कसरी उपयोग गर्न सक्छ त्यो पनि सोच्नु पर्छ। म पनि विदेश पढ्न गएको र काम गरेको मान्छे हो। आफ्ना परिस्थिति जे भए पनि देशलाई योगदान दिन्छु भन्ने अवस्था सबैलाई नहुन सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले र परराष्ट्र मन्त्रालयले के गरिदियो भने तपाईंले स्वदेश फर्किएर योगदान दिनसक्नुहुन्छ भन्ने कुरा म सुन्न चाहन्छु । चीनसँग हाम्रो व्यापार घाटा डरलाग्दो छ। तपाईंहरूले सिकेको ज्ञानले हामी उत्पादनमा लाग्न सक्छौँ कि । के गर्दा हामी सहज वातावरण निर्माण गर्नसक्छौँ त्यो बताइदिनु भो भने हामी त्यसैअनुसार गर्न सक्छौँ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको ४ वर्षमै नेपालको शासन सत्ता सञ्चालन गर्ने अवस्थामा पुगेको र पार्टीले मुलुकलाई समृद्ध बनाउन चाहेको बताए । उनले सरकारको प्राथमिकता सुशासन भएको बताए ।

उनले भने, ‘हाम्रो प्रमुख एजेण्डा सुशासन हो। दोस्रो आर्थिक विकास हो। सुशासन भनेको भ्रष्टाचारको न्यूनीकरण र निर्मूलकीकारणसँग सम्बन्धित छ। हाम्रा वाचापत्रमा हामीले नेपालमा भएका ठूला भ्रष्टाचारबारे छानविन गर्ने प्रतिवद्धता जनाएका थियौँ र त्यो भैरहेको छ । दोस्रो सुशासनको पाटो सेवा प्रवाह हो । पासपोर्ट, नागरिकता वा अन्य सरकारी सेवालाई झन्झट नबेहोरिकन पाउन सकियोस् भन्ने हाम्रो प्राथमिकता छ। परराष्ट्र मन्त्रालयमै पनि हामीले विभिन्न समाधानका बिन्दुहरू स्थापना गरिसकेका छौँ। विदेशमा रहेका र समस्यामा रहेका नेपालीहरूलाई सहयोग गर्न मन्त्रालयमा संरचना विकास भएको छ। काम विस्तारै देखिँदै जान्छ।’

मन्त्री खनालले वर्षमा ५ लाख रोजगारी सिर्जना गरे मात्र नेपालीहरूलाई नेपालमा रोक्न सकिने बताए । उनले भने, ‘वर्षमा ५ लाख रोजगारी सिर्जना गरे मात्र नेपालीहरूलाई नेपालमा रोक्न सकिन्छ। तर अहिले २० देखि ३० हजार मात्र रोजगारी सिर्जना भैरहेको छ। नेपालीका लागि थप साढे ४ लाख रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता र चुनौती छ । नेपालमा जनसंख्या वृद्धिदर कमजोर छ। आगामी २० वर्षजतिमा काम गर्ने भन्दा सेवा चाहिने मान्छेको बुढ्यौलीको संख्या बढी हुने जोखिम छ। बढ्दो उमेरमा चाहिने सेवा दिने संरचना पनि हामीसँग छैन।’

उनले चीनसँगको निकटतालाई कसरी उपयोग गर्ने सकिन्छ त्यो कुरा भन्न यहाँ रहेका नेपालीलाई आग्रह गरे । उनले भने, ‘चीनमा नागरिकता लिएका नेपालीहरूको संख्या धेरै छैन । तर नेपाल फर्किएर के योगदान गर्ने भन्ने स्पष्टता खोजौँ। चीन नेपालबाट नजिक छ। सांस्कृतिक विरासतको सम्बन्ध छ। चुनावमा भोट मागिदिएर गुण लगाउनु भएको छ तर त्यतिले पुगेको छैन। चीनसँगको निकटतालाई कसरी उपयोग गर्ने भन्ने पनि तपाईंहरूले भन्नु पर्छ । नेपाल बनाउने सबै मिलेर हो। म नेपाल बनाउने अभियानमा यहाँहरूलाई निम्तो दिन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *