काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नयाँ अभियानको घोषणा गरेका धवलशमशेर राणाले मुलुकमा एउटा मजबुद राष्ट्रवादी शक्तिको आवश्यकता महसुस भएकाले नयाँ राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाइएको बताएका छन् ।
आइतबार प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा राणाले राप्रपाले राष्ट्रवादी शक्तिको आवश्यकता पूरा गर्न नसकेको दाबी गरे । उनले पछिल्ला उपनिर्वाचन तथा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पनि त्यसलाई पुष्टि गरेको बताए ।
उनले सनातन धर्म, बौद्ध तथा किराँत धर्मलाई समेट्ने सनातनी हिन्दू अधिराज्यको एजेन्डालाई जनताले अस्वीकार गरेको भन्ने टिप्पणी सत्य नभएको उल्लेख गरे । राणाले जनताले तिरस्कार गरेको विषय राप्रपाको कार्यशैली भएको जिकिर गर्दै नेपाली जनताले विगत ३५ वर्षमा पटक–पटक उक्त एजेन्डा स्थापित गर्न राप्रपालाई समर्थन गरेको बताए ।
उनले भने, ‘जनताले तिरस्कार गरेको त राष्ट्रिय प्रजातन्त्र पार्टीको क्रियाकलाप हो । अहिले होइन, पार्टी जन्मेकै बेलादेखि अहिलेसम्म ३५ वर्ष भयो । नेपाली जनताले पटक–पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एजेन्डा स्थापित गर्न, राजसंस्था स्थापित गर्न र हिन्दू अधिराज्य स्थापित गर्न सहयोग गरेकै हुन् । तर हरेक पटक सहयोग गरेपछि माथिका नेताहरू त्यो एजेन्डाप्रति इमानदार र बफादार भएनन् । बरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सबैजसो प्रधानमन्त्रीअन्तर्गत उपप्रधानमन्त्री भइदिए । गर्दागर्दै सभामुख पनि खाइदिए ।’
राणाले प्रस्तावित नयाँ पार्टी सहमति र लोकतान्त्रिक विधिबाट सञ्चालन हुने बताए । उनले पार्टीमा अनुशासनको नाममा दण्डात्मक शैली अवलम्बन नगरिने र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले सातै प्रदेशमा संगठन विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै आगामी स्थानीय तह निर्वाचनमा भ्रष्टाचारमा संलग्न नभएका, जनतामाझ लोकप्रिय र योग्य व्यक्तिहरूलाई उम्मेदवार बनाइने बताए ।
कार्यक्रममा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले देश निर्माणको जिम्मेवारी गम्भीर विषय भएको बताए । उनले आफूहरूले सत्य कुरा उठाउँदा पनि विभिन्न आरोप र आलोचनाको सामना गर्नुपरेको उल्लेख गरे ।
उनले भने, ‘हामीलाई जहिले पनि अराजक भन्ने गरिन्छ । तर इमानदार मानिस कसैसँग डराउनु पर्दैन। म बेइमान होइन, इमानदार मानिस हुँ । झुट बोलेर घर बनाउनु छैन, गाडी चढ्नु छैन । हामीसँग आवश्यक सबै कुरा छ ।’ प्रसाईंले इमानदारी र सत्यनिष्ठाका आधारमा देश र समाज परिवर्तनको अभियान अघि बढाइने धारणा व्यक्त गरे ।
